सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले आन्तरिक द्वन्द्व, खिचातानी र खुट्टा तान्ने (आखिखु) प्रवृतिबाट जोगिनुपर्ने बताएका छन्।
मंगलबार रास्वपाका नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति अर्यालले जनताबाट पाएको ऐतिहासिक अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए। ‘यो इतिहास लेख्ने सुर्वण अवसर हो, हामीले यसलाई सदुपयोग गर्न सकेनौँ भने सायदै हामी आफैँले आफैँलाई माफ गर्न गाह्रो हुनेछ। यसतर्फ गम्भिर हुन म आग्रह गर्छु,’ उनले भने, ‘आन्तरिक द्वन्द्व, आन्तरिक खिचातनी, आन्तरिक लडाईं, खुट्टा तान्ने प्रवृत्तिबाट हामी धेरै टाढा जानुपर्नेछ।’
उनले रास्वपाका सांसदलाई आफ्नो क्षमता र लगनशीलता राष्ट्रहितमा समर्पित हुन आग्रह गरे। इतिहास लेख्ने सुनौलो अवसर आएको भन्दै यसलाई सदुपयोग गर्न सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। यसलाई सदुपयोग गर्न नसकेमा आफैँलाई माफ गर्न गाह्रो हुने उनले बताए। उनले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताएका छन्। उनले आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।
‘अर्को निर्वाचनसम्म पुग्दै गर्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने सिर्जना अवस्था होस्। त्यो काम भाषण गरेर र सधै सभापति रवी लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह दौडाएर सम्भव छैन। सबै जनाले आफ्नो ठाउँबाट काम गरेर त्यो रिजल्ट निकाल्नुपर्नेछ,’ अर्यालले भने।
त्यसका लागि भाषण वा सिमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै उनले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए। अब बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचार अन्त्य गर्नेगरी काम गर्ने उनको भनाइ थियो।
‘हामीले देशले जित्नेगरी र दूरदराजका सबै नेपाली नागरिकले जित्नेगरी सबै नेपालीलाई अब भने मेरा लागि सरकार छ भनेर महसूस गराउने सरकार निर्माण गरेर डेलिभरी र सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्य गर्न हामीले काम गर्नुपर्नेछ,’ अर्यालले भने, ‘
निर्वाचनमा रास्वपाले जित हासिल गरे पनि देश र जनताले जित्न बाँकी रहेको उनले बताए। दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभुत हुने वातावरण सिर्जना गरी जनताको सरकार रहेको आभास दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिए। ‘यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गर्यो। अब देशले जित्न बाँकी छ, जनतो जित्न बाँकी छ,’ उनले भने।
सभापति लामिछाने र वरिष्ठ नेता शाहप्रति भरोसा गरेर हालको जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले आगामी दिनमा पार्टीका सबै सदस्यहरुको मेहनतले पार्टीलाई पहिलो बनाउनुपर्ने बताए।