ताप्लेजुङ्गका योगेशको आत्माले तनहुँका रामचन्द्रलाई भेटेरै पुकार्यो 

सोमबार, चैत २, २०८२

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उनले आज बिहान ११ बजे पौडेललाई भेटेर संविधान जोगाएको भन्दै धन्यवाद दिएको जानकारी दिए ।

भट्टराईका अनुसार विषम परिस्थितिमा संविधान जोगाएर मुलुकलाई ट्रयाकमा ल्याउन राष्ट्रपति पाैडेलले अहम् भूमिका खेलेकोमा बधाई ज्ञापनसहित समसामयिक विषयमा छलफल भएको थियो ।

‘उहाँले मुलुकलाई ठूलो गुण लगाउनुभएको छ । संविधान क्षत्‌विक्षत्हु नबाट जोगाउनुभएको छ,’ उनले भने, ‘अन्यौलको भूमरीबाट हटाएर मुलुकलाई दिशा निर्देशन दिनमा उल्लेखनीय काम गर्नुभएको हुँदा बधाई भन्न गएको हुँ ।’

उनले जेन–जी आन्दोलनपछि तोकिएकै समयमा चुनाव नभएको भए मुलुकमा अस्थिरता हुने र त्यसले जस्तो पनि परिणाम ल्याउन सक्ने अवस्था रहेको बताए ।

भट्टराई राष्ट्रपति पौडेललाई भेटेलगत्तै गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका छन् । ओली पिताको निधनले शोकमा छन् । दिवंगत पिताप्रति श्रद्धाञ्जली दिन र अध्यक्षसहित ओली परिवारप्रति समवेदना प्रकट गर्न गुण्डु पुगेको भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्