किशोरीलाई कालोसूचीमा नराख्न सर्वाेच्चको अन्तरिम आदेश

बिहीबार, फागुन २८, २०८२

सर्वोच्च अदालतले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरी साह ‘कमल’को नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ ।  

साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेका कारण निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । साहले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले उनको नाम कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएसँगै साहको उम्मेदवारी कायम रहने बाटो खुलेको अधिवक्ता दिपेन्द्र झाले जानकारी दिए ।

निर्वाचन आयोगले भने उनको उम्मेदवारी खारेज गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ । निर्वाचनमा साह उम्मेदवार रहेको घण्टी चुनाव चिह्नमा सर्वाधिक मत रहेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्