सोसल मिडिया
युनिकोड
भदौ २४ गते जेनजी आन्दोलनको समयमा रविलक्ष्मी चित्रकारमाथि आगजनी गर्ने एक युवकविरुद्ध मुद्दा दायर भएको छ।
प्रहरी वृत्त स्वयम्भूले चित्रकार र उनको निवासमा आगजनी गरेको आरोपमा बझाङको जयपृथ्वी नगरपालिका– ११ घर भएका ३६ वर्षीय दिलबहादुर खातीविरुद्ध मुद्दा दायर गरेको हो।
प्रहरीले खातीविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा मुद्दा दायर गरेको छ। साथै आगजनीमा १० करोड २४ लाख ५० हजार क्षति भएको भन्दै क्षतिपूर्ती भराउन पनि माग गरिएको प्रहरी वृत्त स्वयम्भूले जानकारी दियो।
चित्रकार पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती पनि हुन्। २४ गते जनेजी आन्दोनका दिन काठमाडौँको डल्लुस्थित घरमा आगजनी हुँदा चित्रकार गम्भीर घाइते भएकी थिइन्।
लगत्तै उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा चित्रकारको देब्रेहात काटिएको थियो।
बर्न अस्पतालको आईसीयूमा लामो सयम राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो। तर, उपचारकै क्रममा फेरि निमोनियाको संक्रमण फैलिन थालेको थियो।
त्यसपछि उनलाई असोज ७ गते भारत लगिएको थियो। भारतको एपोलो अस्पतालमा तीन महिना लामो उपचार गरेर उनी निको भएकी थिइन्। ७० वर्षीया चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको थियो।