सोसल मिडिया
युनिकोड
देशभर रास्वपा बलियो देखिँदा कर्णालीमा भने कमजोर देखिएको छ । रास्वपाले कर्णालीको सुर्खेतमै फागुन ७ गते वाचापत्र सार्वजनिक गरेको थियो ।
कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये एउटा निर्वाचन क्षेत्रमा रास्वपा विजयी भएको छ । अन्य निर्वाचन क्षेत्रमा पुराना दल नै बलियो देखिएका छन् । सार्वजनिक मतपरिणामअनुसार ११ निर्वाचन क्षेत्रमध्ये कांग्रेस पाँच र नेपाली कम्युनिस्ट पार्टी चार क्षेत्रमा विजयी भएका छन् । एमाले, रास्वपा र राप्रपा एक–एक निर्वाचन क्षेत्रमा विजयी भएका छन् ।
मतपरिणामअनुसार मुगु, हुम्ला, दैलेख १, जाजरकोट र सुर्खेत १ मा कांग्रेसले जित हात पारेको छ । नेकपाले रुकुम पश्चिम, सल्यान, कालीकोट र डोल्पामा जितेको छ । रास्वपा सुर्खेत २, राप्रपा जुम्ला र एमाले दैलेख २ मा विजयी भएका छन् । प्रत्यक्षमा रास्वपा एउटा क्षेत्रमा विजयी भए पनि समानुपातिक मतमा अगाडि देखिएको छ ।
कर्णालीका दुर्गम र ग्रामीण क्षेत्रमा संगठन विस्तार गर्न पर्याप्त समय नपाएको रास्वपा प्रदेश सभापति मदन खड्काले बताए । ‘आगामी दिनमा पार्टी संगठन बलियो बनाउने र अर्को निर्वाचनमा रास्वपामय कर्णाली बनाउने योजना छ,’ उनले भने, ‘यसपटक समानुपातिकमा हामी कर्णालीबाट पहिलो दल नै बन्छौँ ।’
निर्वाचनको समयमा पुराना दलका उम्मेदवारले स्थानीय मुद्दा, विकासका योजना र व्यक्तिगत सम्पर्कलाई प्राथमिकता दिँदा मतदातामा पनि पुराना दलप्रति विश्वास कायम रहेको मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन पीताम्बर ढकालले बताए । ‘रास्वपाले राष्ट्रियस्तरमा चर्चा पाए कर्णालीजस्ता दुर्गम प्रदेशमा संगठन निर्माण, स्थानीय नेतृत्व विकास र जनतासँग निरन्तर सम्पर्क विस्तार गर्नुपर्ने चुनौती रह्यो,’ उनले भने, ‘देशभर जुन जनमत निर्माण हुँदै थियो । त्यो कुरा कर्णालीले बुझ्न नसकेको पनि हुन सक्छ ।’