निर्वाचन सम्पन्न भएपछि कांग्रेस सभापतिले सुनाए यस्तो फैसला 

बिहीबार, फागुन २१, २०८२

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिहीबार सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा मतदाताले देखाएको सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको अटल प्रतिबद्धतालाई पुनः बलियो बनाएको बताएका छन्।

निर्वाचन सम्पन्न भएपछि विज्ञप्ति जारी गर्दै सभापति थापाले निर्वाचनमा मतदाताको सहभागिताले लोकतान्त्रिक प्रणालीप्रतिको गहिरो विश्वासलाई पुष्टि गरेको र  राजनीतिक दलहरूका साथै अब बन्ने सरकारलाई जनअपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको बताएका हुन्।

उनले भनेका छन्, ‘प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ।’

केही घटनाबाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा उनले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्। साथै निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायप्रति पनि उनले  आभार प्रकट गरेका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्