पार्टीले नेतृत्व पाए आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने गगनको दाबी

आइतबार, फागुन १७, २०८२

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले नेतृत्व पाए आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले आगामी ५ वर्षको अवधिमा मुलुकलाई विकास र सुशासनमा परिणाम दिने गरी हरेक क्षणको सदुपयोग गर्ने प्रतिज्ञासहित अघि बढेको बताए।

सभापति थापाले विगत केही समययता सबै दलहरु सरकार बनाउने र टिकाउने धन्दामा लागेकाले अब परिणाम आउने गरी काम गर्नुपर्ने बेला आएको बताए।

उनले भने, ‘अबको पाँच वर्षको अवधि सरकार बनाउने र टिकाउनेमा जाने होइन। अबको अवधि परिणाम दिने ठाउँमा जानु पर्दछ। त्यसैले नेपाली कांग्रेस पार्टीको तर्फबाट हामी एउटा प्रतिज्ञा लिएर उभिएका छौँ– हामी यो ५ वर्षको प्रत्येक दिनको प्रत्येक क्षण नेपालको सुशासन र विकासका लागि सदुपयोग गर्न चाहन्छौँ एक क्षण पनि खेर नफाली। त्यसका निम्ति एउटा सोचका साथमा, संकल्पका साथमा र योजनाका साथमा हामी आएका छौँ।’

सभापति थापाले मुलुकलाई अघि बढाउन सबै दलहरुबीच सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताए।
 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्