‘हाइ-प्रोफाइल’ उम्मेदवारका कारण झापा-५ को सुरक्षा व्यवस्था कडा

बुधबार, फागुन १३, २०८२

आगामी निर्वाचनलाई लक्षित गरी झापा- ५ को सुरक्षा व्यवस्था कडा पारिएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह जस्ता ‘हाइ-प्रोफाइल’ उम्मेदवारहरू चुनावी मैदानमा रहेका कारण गृह मन्त्रालयले यस क्षेत्रको सुरक्षालाई विशेष प्राथमिकतामा राखेको हो।

निर्वाचन सुरक्षा सुनिश्चित गर्न जनपद प्रहरीले यस क्षेत्रमा मात्रै पाँच जना डीएसपीको नेतृत्वमा ठूलो संख्यामा टोली खटाएको छ।

सामान्यतया इलाका प्रहरी कार्यालय दमकमा मात्र डीएसपीको दरबन्दी रहने गरेकोमा, निर्वाचनका लागि गृहमन्त्रालयले थप चार जना डीएसपी पठाएको हो।

अहिले झापा- ५ अन्तर्गतका प्रत्येक स्थानीय तहमा एक-एक जना डीएसपीको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ। जसअनुसार गौरीगञ्ज, गौरादह र कमल गाउँपालिकामा पनि डीएसपीकै कमाण्डमा सुरक्षाकर्मीहरू तैनाथ भएका छन्।

यस क्षेत्रको सुरक्षाका लागि मात्रै हाल दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। केही समयअघि कोशी प्रदेश प्रहरी कार्यालयबाट १ सय जना थप प्रहरी ल्याइएकोमा, पछिल्लो पटक गृह मन्त्रालयले डीएसपीसहितको ठूलो टोली पठाएको हो।

झापा जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार निर्वाचनलाई लक्षित गरी जिल्लामा साविकको तुलनामा तीन गुणा बढी प्रहरी थप गरिएको छ। उनले जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन पर्याप्त सुरक्षाकर्मी रहेको जानकारी दिइन्।

झापासँगै सरकारले देशभरका सातै प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बाट अतिरिक्त टोली परिचालन गरेको छ।

गृहमन्त्रालयले एसएसपीदेखि डीएसपीसम्मको नेतृत्वमा टोलीहरू खटाएको र उनीहरूलाई मतदान प्रक्रिया सकिएपछि मात्रै कार्यक्षेत्र छाड्न निर्देशन दिएको छ।

झापामा थप एक जना एसपी पनि आउने चर्चा रहे पनि हालसम्म उनी आइपुगेका छैनन्।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्