भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न राजेन्द्रको बिन्ति

आइतबार, फागुन १०, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मतदाताहरूलाई आफ्नो भोटको शक्ति बुझ्न र मतदान गर्नुअघि गम्भीरतापूर्वक सोच्न आग्रह गरेका छन् ।

बुटवलमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले भोट भनेको शक्ति भएको र यसलाई हस्तान्तरण गर्दा हजारचोटि विचार गर्नुपर्ने बताएका हुन् ।

लिङदेनले विगतमा मतदाताहरू झुटो आश्वासन, केही लिटर पेट्रोल, केही सय रुपैयाँ, वा माछामासु र मादकपदार्थको प्रलोभनमा परेर मतदान गर्दै आएको टिप्पणी गरे । सत्तामा बस्ने नेताहरूले नयाँ समझदारी नगरे र आफ्ना गल्ती नसच्याए देश दुर्घटनामा जाने लिङदेनको चेतावनी छ ।

अध्यक्ष लिङदेनले राजा, राजनीतिक दल र युवा पुस्ताबीच नयाँ समझदारीको आवश्यकता औंल्याए । निषेधको राजनीति अन्त्य गरी देशले जित्ने वातावरण बनाउनुपर्ने उनको तर्क छ । उनले राप्रपालाई संसदमा बलियो शक्तिको रूपमा पुर्याउन मतदातासँग सहयोग मागे । राप्रपासँग देश बनाउने स्पष्ट योजना रहेको दाबी गर्दै लिङदेनले भ्रष्टाचारमुक्त ढंगले काम गरे ५-६ वर्षभित्रै देशको मुहार फेरिने बताए । अध्यक्ष लिङदेनले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार काण्डको छानविनमा आफ्नो भुमिका रहेको स्मरण गराए ।

उनले भने,’मैले हरेक ठाउँमा भन्दै आएको छु कि भोट भनेको शक्ति हो । यो शक्ति हस्तान्तरण गर्ने कुरा हो । त्यसकारणले आफ्नो हात काटेर दिँदा खेरि आफ्नो शक्ति हस्तान्तरण गर्दा खेरि कसलाई दिइराखेको छु भन्नेकुरा हरेक मतदाताले सोच्नुपर्छ । आजसम्म हामीले झुट्ठा आश्वासनमा कहिले केही लिटर पेट्रोलमा, कहिले केही सय, केही हजारमा, जाँडरक्सीमा, माछामासुमा, नातागोतामा अथवा बाउबाजेले बोकी आएको पार्टी भन्नेमै हाल्दै आयौँ । अहिले पनि भोट दिने बेला आएको छ । त्यसमाथि पनि यो भोट विशेष अवस्थामा आएको छ । त्यसकारण यो भोटमा तपाईंले मतदान गर्नुभन्दा अगाडि हजारचोटि सोचेर मात्रै हजारचोटि विचार गरेर मात्रै मतदान गर्नुस् भनेर आएको छु । तपाईंले अहिले सुन्नुभएको होला टोल–टोलमा मानिसहरु कस्तो–कस्तो अनुहार लिएर प्रसन्न सौदापात गर्न आउनुभएको छ। तपाईंहरुले पनि नमस्कार खानुहुन्छ । चुनावभन्दा अगाडि राजा, राजनीतिक दल र नवयुवा पुस्ताको बीच नयाँ समझदारी गरौँ, देशमा नमिलेका विषयहरु मिलाऔँ, निषेधको राजनीति हामीले लामो समयसम्म गर्‍र्यौं । अब कसैले कसैलाई निषेध गर्ने अथवा कसैले हार्ने होइन कसैले नहार्ने देशले जित्ने नयाँ समझदारी गरेर अगाडि जाऔँ अनि चुनावमा जाऔँ । यसो भयो भने फेरि भविष्यमा कसैले विद्रोह गर्नुपर्दैन कसैले आन्दोलन गर्नुपर्दैन भनेर भन्यौँ । तर आज जबर्जस्ती देश चुनावतर्फ अगाडि बढेको छ । हामी अहिले पनि स्थिति सबै राजनीतिक शक्तिहरुलाई राष्ट्रिय सहमतिमा आउन र चुनाव बरु दुई महिना पाँच महिना छ महिना पछि गरे हुन्छ तर एउटा समझदारी गरेर चुनावमा जाऔँ भन्ने प्रयत्न गरिराखेका छौँ ।’

उनले काँग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई पनि एकचोटि राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गरे । उनले प्रत्यक्षतफ र समानुपातिकतर्फ राप्रपालाई मतदान गरी देश बचाउने अभियानमा सहभागी हुन सबैलाई अपिल गरे ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्