कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने 

शुक्रबार, फागुन ८, २०८२

नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने भएको छ । 

कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले त्यो सभामा सम्बोधन गर्ने जानकारी दिए । 

त्यो सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र जिल्लाको नेतृत्व गर्ने नेताहरूले छलफल गरेका थिए । 

फागुन ६ गते जनकपुरको तिरहुतियामा मधेस सभा गर्दै चुनावी सभाको सुरुवात गरेको कांग्रेसले फागुन ७ गते काठमाडौँको राष्ट्रियसभामा सभापति थापासँग ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ विषयक अन्तर्क्रिया गरेको थियो । 

अन्य प्रदेशमा पनि ठुला चुनावी कार्यक्रम गर्ने तयारी भइरहेको र कहाँ कहाँ कहिले कहिले गर्ने भन्ने शनिबार टुङ्गिने प्रवक्ता चालिसेले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्