सोसल मिडिया
युनिकोड
नेपाली काग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजिक कार्यक्रममा थापाले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरू आएको जिकिर गरे। ‘नेपालको यो पाँच वर्ष खेर फाल्न हुन्न। गएको १०-१२ वर्ष जसरी विकास हुनुपर्थ्यो, त्यो हुन सकेन। हामीले मान्यौँ, मान्नुपर्छ यसलाई, त्यसको पार्ट हामी पनि हो तर यो पाँच वर्ष हामी खेर फाल्दैनौ,’ थापाले थपे, ‘यो पाँच वर्ष खेर नफाल्ने भन्दै गर्दा हामी समालिनु पनि पर्छ।’
उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाको गुनासो जायज रहेको बताए।
त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको उनको भनाई छ। ‘नेपाललाई अहिले सुधार चाहिएको हो। सुधारको ग्यारेन्टी लिएर हामीहरू उभिएका छौँ। संकल्प लिएर, योजना लिएर, कुन दिन के गर्ने?,’ थापाले भने।
गत १०-१२ वर्षमा हुनुपर्ने जति विकास नभएको उनले बताए। तर अबका पाँच वर्ष खेर जान नदिने उनले प्रतिवद्धता जनाए। ‘नागरिकको तहमा ठूलो छटपटाहट छ, खासगरि नौजवानको बीचमा छ, देश जसरी चलिरहेको थियो, अहिले पनि चलिरहेको छ। यस विषयमा उनीहरुको ठूलो कम्प्लेन छ, त्यो जायज छ,’ थापाले भने, ‘उनीहरूको मागलाई सम्बोधन गर्ने नै हो। अहिलेको मुद्दा यही नै हो।’
सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने बताए। देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाई छ।
‘देश उत्तेजनाले मात्रै बदलिन्न। देश रिसले बदलिन्न, देश आवेगले बदलिन्न। म असल, बाँकी रहेका सबै खराब भनेर देश बन्दैन। बन्नै सक्दैन,’ उनले भने, ‘हाम्रा विमति छन्, राजनीतिक दलहरूसँग। हामी फरकफरक राजनितिक दल हौँ, हामी प्रतिष्पर्धा गर्छौं। तर हामी सबैको आफ्नो स्पेश छ। यो देश बनाउन एमाले पनि चाहिन्छ, माओवादी, रास्वपा, जसपा पनि चाहिन्छ, सबै चाहिन्छ। सबैलाई मिलाएर लिएर जानुपर्छ। त्यो मिलाएर लैजाने राजनीति आजको दिनमा नेपाली कांग्रेसले गर्छ।’
देशमा रहेका सबै राजनीतिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको र त्यो भुमिका नेपाली कांग्रेसले निर्वाह गर्ने उनले बताए। आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न नसक्ने उनको भनाई छ।
हालको प्रमुख चुनौती देशलाई पपुलिज्मबाट जोगाउनु रहेको उनले बताए। ‘यो निर्वाचन अगाडीको हाम्रो ठूलो प्रश्न भनेको चाहीँ के नेपाललाई हामी एक्सट्रिनिजमबाट जोगाउन सक्छौँ भन्ने हो। अहिले एकसेएक परिपक्व डेमोक्रेसीहरू पनि जसरी पपुलिजमको सिकार भएको छ, हेर्दाहेर्दे एउटा वेभजस्तो आएको छ, त्यो पपुलिजमको आक्रमणबाट के नेपालको डेमोक्रेसीलाई जोगाउन सक्छौँ? हाम्रो डेमोक्रेसी त्यति परिपक्व पनि भइसकेका छैनौँ,’ उनले भने।
परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिज्मको लहरमा परेको उल्लेख गर्दै उनले नेपालजस्तो अझै संस्थागत रूपमा बलियो नभइसकेको लोकतन्त्रका लागि यो थप चुनौतीपूर्ण हुने बताए।
‘संस्थाहरू बलियो नबनेको अवस्थामा आवधिक निर्वाचनबाट पपुलिजम एउटा अख्तियारी बोकेर आयो भने त्यसको भार हामी थेग्न सक्छौँ भन्ने हाम्रो अगाडी एउटा प्रश्न छ। यसको हामीले ठिक ढंगले उत्तर खोज्नुपर्नेछ,’ थापाले भने।