निर्वाचन बिथोल्ने उद्देश्यले चन्दा संकलन गर्ने दुई भाईको हातमा हत्कडी

सोमबार, फागुन ४, २०८२

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले चन्दा संकलन गरेको आरोपमा प्रहरीले कास्कीबाट दुई जनालाई पक्राउ गरेको छ। 'माओवादी कार्यकर्ता' भएको बताउँदै डर-धम्की दिएर गैरकानूनी रूपमा रकम असुल गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा 'नेकपा बहुमत'का केन्द्रीय सदस्य ३२ वर्षीय 'अग्नि' भनिने लक्ष्मण पाण्डे र सोही पार्टीका कास्की जिल्ला सेक्रेटरी ३७ वर्षीय भीमसेन परियार रहेका छन्। पाण्डे तनहुँको व्यास नगरपालिका–१३ छाब्दीका हुन् भने परियार कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का बासिन्दा हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार, निर्वाचनलाई लक्षित गरी विभिन्न स्थानमा चन्दा संकलन भइरहेको गोप्य सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरूलाई फागुन ३ गते नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूको साथबाट चन्दा संकलनमा प्रयोग भएका विभिन्न कागजात र नगद समेत बरामद गरेको छ।

प्रहरीले उनीहरूमाथि चन्दा ऐन सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि विस्तृत छानबिन भइरहेको डीएसपी बस्नेतले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्