सोसल मिडिया
युनिकोड
कार्यसम्पादन मूल्यांकनमा देशभरिका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले सबैभन्दा कमजोर देखिएको हो ।
आयोगले सार्वजनिक गरेको पछिल्लो मूल्यांकनअनुसार काठमाडौंले ४४.९७ अंक मात्र प्राप्त गरेको छ । यो देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो । काठमाडौं छैटौं स्थानमा छ ।
यस वर्षको आयोगले गरेको मूल्यांकनमा मोरङको विराटनगर महानगरपालिका सबैभन्दा अब्बल सावित भएको छ । विराटनगरले ७८.११ अंक पाएर पहिलो स्थानमा छ । दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ ।
आयोगले सार्वजनिक गरेको पछिल्लो मूल्यांकनअनुसार ७६.३३ अंकसहित ललितपुर महानगरपालिका दोस्रो स्थानमा रहेको हो । चितवनको भरतपुर महानगरपालिका ६८.०४ अंकसहित तेस्रो स्थानमा परेको छ । चौथो स्थानमा रहेको कास्कीको पोखरा महानगरपालिकाले ५८.०४ अंक पाएको छ ।
पाँचौं स्थानमा रहेको पर्साको वीरगञ्ज महानगरले ५४ अंक पाएको छ । आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।
यसैगरी आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनमा समेटिएको छ ।
आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको अवस्थालार्ई समेत आधार बनाइको छ ।