नेताको सफा नियत र ठीक नीति भए मात्र भ्रष्टाचार हट्ने कांग्रेस सभापतिको ठम्याई 

मंगलबार, माघ २७, २०८२

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई समेटेर देश सम्हाल्ने जिम्मेवारी पूरा गर्ने बताएका छन्। 

मंगलबार सिरहाको लहानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले अहिलेको चुनौतीपूर्ण परिस्थितिमा मुलुकलाई सही दिशा दिन कांग्रेसजस्तो जिम्मेवार शक्तिको आवश्यकता रहेको जिकिर गरे। ‘हामी नयाँ सोच र सङ्कल्पका साथ आएका छौँ,’ उनले भने, ‘कुनै उत्तेजना, झगडा वा घृणा नफैलाई सबैलाई मिलाएर लैजाने र देश सुधार्ने सामर्थ्य कांग्रेससँग मात्र छ।’

उनले बीपी कोइरालाको मेलमिलाप नीति र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसले खेलेको भूमिकाको स्मरण गरे। ‘२०३३ सालमा बीपीले ज्यानको बाजी लगाएर देश जोगाउन खोज्नु वा सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु कांग्रेसको राष्ट्रिय चरित्र थियो। आज फेरि देशलाई त्यस्तै सम्हाल्ने शक्तिको खाँचो छ,’ उनले भने। 

नागरिकमा राज्यका संस्थाप्रति चरम अविश्वास रहेको स्वीकार गर्दै सभापति थापाले अबको मुख्य एजेन्डा भ्रष्टाचार अन्त्य हुनुपर्नेमा जोड दिए। ‘नागरिक रिसाएका छन् किनकि उनीहरूले हरेक समस्याको जडमा भ्रष्टाचार देखेका छन्,’ उनले भने, ‘नेताको सफा नियत र ठीक नीति भयो भने नेपालबाट भ्रष्टाचार हट्छ र मुलुक अगाडि बढ्छ।’

उनले जनताको आक्रोशलाई राजनीतिक फाइदाका लागि प्रयोग गर्दै ‘आगोमा घिउ थप्ने’ प्रवृत्तिबाट जोगिनुपर्ने बताए। सबैखाले अतिवादबाट मुक्त भएर नागरिकका समस्या बुझ्न र समाधान गर्न कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो। 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्