‘नयाँ’ कांग्रेसका सभापति गगनले भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने 

शनिबार, माघ २४, २०८२

नेपाली कांग्रेस सभापति गगन थापाले भदौ २२, २३ र २४ गतेका घटनालाई इन्कार (डिनायल) वा त्यसबाट राजनीतिक लाभ (डिभिडेन्ड) लिने प्रवृत्तिको सट्टा सत्य स्वीकार गरी जिम्मेवारी लिने र समाधान दिने ‘ड्युटी’ बाटो अपनाएको बताएका छन्। 

उनले यो निर्वाचन पार्टीले खोजेको नभई घटनाक्रमले पार्टी र देशलाई नयाँ स्थितिमा ल्याएको उल्लेख गर्दै कांग्रेसले आफूलाई ‘नयाँ’ बनाएर आएको र अब देशलाई पनि बदल्ने संकल्प गरेको बताएका हुन्।

यो निर्वाचनले कांग्रेस र देशलाई नयाँ जिम्मेवारीको ठाउँमा ल्याएको उल्लेख गर्दै पार्टीले आफूलाई पूर्ण रूपमा ‘बदलेर’ आएको र अब देशलाई पनि बदल्ने दृढ संकल्प व्यक्त गरे।

उनले विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वले कांग्रेसलाई मूल्य–मान्यता (स्वतन्त्रता र समानता) को निरन्तरता दिँदै समयसापेक्ष परिवर्तन अपनाएको बताए।

नयाँ कांग्रेसले अब सिद्धान्तसँग सम्झौता नगरी सरकार पनि नचाहने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने, संस्थाहरूलाई पवित्र बनाउने र राष्ट्रिय स्वार्थमा आधारित ‘मिलाउने तथा सम्हाल्ने’ शक्तिको रूपमा उभिने प्रतिवद्धता जनाए। 

थापाले भदौ २३ र २४ गतेका घटनालाई ‘डिनायल’ (केही भएको छैन वा षड्यन्त्र हो भन्ने) र ‘डिभिडेन्ड खाने’ (आगोमा तेल हाल्ने गरी उत्तेजना फैलाएर लाभ लिने) दुई घातक प्रवृत्ति देखिएको बताए।नेपाली कांग्रेसले यी दुवैबाट टाढा रहने निर्णय गरेको उनको भनाइ छ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २०:४८
प्रतिक्रिया दिनुहोस्