बदलिएको कांग्रेसले नै देश बदल्ने भन्दै गगनले पार्टी छोडेकालाई आउँन दिए निम्तो

बुधबार, माघ २१, २०८२

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले नै देश बदल्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले देश बदल्न युवासँगै अघि बढ्न चाहेको जानकारी दिएका छन्।‘युवाहरू भविष्य हुन् भनेर छाड्ने होइन, पार्टनर हुन् । सँगै हिंड्ने हो,’ थापाले भनेका छन्।

नेपाली कांग्रेसका सभापति गगन थापाले युवाहरू अहिलेका साझेदार भएकोले सँगै हिँड्ने बताएका छन्।

‘कांग्रेस बदलेर आएको छ, देशलाई बदल्ने नयाँ कांग्रेस र कांग्रेस २.० हो, जसले पूराना कांग्रेसको सबै असल कुराहरूलाई लिएको छ। खराब कुरालाई छाडेको छ,’ सम्बोधनका क्रममा उनले भने।

‘यसका लागि बदलिएको नेपाली कांग्रेस, बदल्छौं देश भन्ने विश्वासका साथ हामी तपाईंहरूको माझ आएका छौं भिडियो सन्देशमा उनले भनेका छन्, ‘हामी नेपाललाई सम्हाल्छौं र हामी देशलाई थप ध्वंशमा पर्न दिंदैनौं।’

कांग्रेसले अब उत्तेजना र घृणाको राजनीति नगर्ने बरु सबैलाई मिलाएर अघि बढ्ने उनले बताए। उनले बदलिएको नेपाली कांग्रेस के हो भनेर एकछिन अडिएर सोच्न पनि आग्रह गरेका छन्।

बदलिएको नेपाली कांग्रेसले हिजोको कांग्रेसका कतिपय राम्रा कुराहरूलाई अघि बढाउने पनि उनले बताए।

विगतमा अर्को चुनाव चिह्नमा भोट हाल्न लगाएको र पार्टी सञ्चालन गरेको तरिकामा आम नागरिकबाट गुनासा रहेको भन्दै त्यसलाई जोखिम उठाएर आफूहरूले सच्याएर आएको सभापति थापाको भनाइ छ।

पार्टी छाडेका तथा निस्क्रिय भएकाहरूलाई पार्टीमा फर्कन र सक्रिय हुन पनि सभापति थापाको आह्वान छ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्