सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले केवल नेतृत्व मात्र परिवर्तन नभई सोच, संकल्प, शैली र काम गर्ने तरिका पनि परिवर्तन गरेको बताएका छन्।
शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले नेतृत्वसँगै नीतिमा पनि परिवर्तन गरेको बताएका हुन्। उनले देश परिवर्तन गर्छु भन्नेले पहिला आफू परिवर्तन हुनुपर्ने बताए।
देश बदल्ने औजार बदलिएमा मात्रै बदलिएको औजारले नयाँ परिणाम दिनसक्ने उनको भनाइ थियो। उनले आफूहरुले कांग्रेसभित्र जोखिम उठाएर पार्टीलाई रूपान्तरण गर्ने संकल्प गरेको र त्यो सफल भएको बताए।
सभापति थापाले अब कांग्रेसको कार्यशैली, नीति तथा त्यसबाट आउने परिणामसमेत नयाँ हुने दाबी गरे। उनका अनुसार पार्टीले नागरिकको आह्वानलाई आत्मसात गरेको छ।
विशेषगरी देश परिवर्तनको मागसहित सडकमा उत्रिएका नवयुवा तथा जेन–जी पुस्ताको भावनालाई कांग्रेसले सम्मानपूर्वक ग्रहण गरेको उनले उल्लेख गरे।
नयाँ सोच, संकल्प, जोश र योजनासहितको कांग्रेसले देशलाई पनि सोहीअनुसार अगाडि बढाउने बताए। उनले कंग्रेसले प्रजातन्त्र, सामाजिक न्याय, समावेशिता, नागरिकको सम्मुनति, सुशासन र पारदर्शिताका विषयलाई अझ दह्रोसँग बोक्ने बताए।