सात करोड भन्दा बढी भ्रष्टाचार गरेपछि राप्ती स्वास्थ्यका १९ जना डामिए

बिहीबार, माघ १५, २०८२

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जना र हिमालयन मेडिटेक प्रा.लि.माथि भ्रष्टाचार मुद्दा दायर भएको छ । 

प्रतिष्ठानका लागि सीटी स्क्यान मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

खरिद गर्दा आवश्यकताको पहिचान एवं गुरूयोजना नै नबनाई किनेको पाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

भण्डारीसहित प्रतिष्ठानका तत्कालीन का.मु.रजिष्ट्रार तथा डेपुटी फाईनान्स म्यानेजर कैलाश प्रसाद देव, तत्कालीन निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम वि.सी., तत्कालीन बोयोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आषुतोश भण्डारी, त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पताल महाराजगंज, काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका तत्कालीन शाखा अधिकृत झन्कार लामिछाने, लिलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, तत्कालीन लेक्चरर डा. श्रीसिया पोख्रेल, तत्कालीन आई.टी. अफिसर हिरालाल भण्डारी, तत्कालीन लेखा अधिकृत राजीब बस्नेत, तत्कालीन फिजियोथेरापिष्ट पूजा ठाकुर, तत्कालीन कम्प्युटर असिस्टेन्ट सतिश बहादुर शाही, तत्कालीन फार्मेशी सुपरभाइजर कृष्ण प्रसाद जोशी र तत्कालीन स्टाफ नर्स विन्दु पौडेललाई प्रतिवादी बनाइएको छ । 

साथै, हिमालयन मेडिटेक प्रा.लि. तथा उक्त कम्पनीका अमर श्रेष्ठ र सन्जु राजकर्णिकारलाई पनि प्रतिवादी बनाइएको आरोपपत्रमा उल्लेख छ । 

उनीहरूले ७ करोड ३१ लाख ८२ हजार रूपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्