सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नम्बर ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका हुन् ।
बहुजन पार्टीबाट सर्लाही क्षेत्र– ४ ख प्रदेशका उम्मेदवार कृष्णकुमार कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस सभापति गगन थापाले बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।
सर्लाहीमा आयोजित कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुजित महतो, वडा नम्बर २ का वडाध्यक्ष अजय प्रसाद शाह, वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नम्बर ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेर गगन थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् । मुलुकको विकास गर्न सक्ने भिजन भएको कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेस प्रवेश गरेको उनीहरूले बताए । यसअघि सर्लाही क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेस प्रवेश गरेका थिए ।