सोसल मिडिया
युनिकोड
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा यसपटक चुनावी सरगर्मी निकै बढेको छ।
एकातिर पूर्वप्रधानमन्त्री ओलीले गरेका भौतिक विकासका कामको फेहरिस्त छ भने अर्कोतिर काठमाडौँका मेयर बालेन शाहले ल्याएको लहर र सामाजिक सञ्जालको प्रभावले एमालेलाई चुनौती थपिदिएको छ।
अध्यक्ष ओलीका चुनावी कमाण्डर एवं पार्टीका केन्द्रीय सदस्य देवेन्द्र दाहालले यस निर्वाचनलाई ‘विकासविरुद्ध प्रोपोगन्डाको लडाइँ’ भनेका छन्।
दाहालका अनुसार पूर्वप्रधानमन्त्री, मन्त्री र सांसदको हैसियतमा ओलीले झापामा गरेका ठूला आयोजना र भौतिक विकासका उपलब्धिहरू स्थानीय जनताले प्रत्यक्ष उपभोग गरिरहेका छन्।
तर, पछिल्लो समय सामाजिक सञ्जालमा बालेन शाहको कार्यशैली र स्वतन्त्र उम्मेदवारहरूको प्रभाव देखाएर जनतालाई भ्रममा पार्न खोजिएको उनको दाबी छ।
प्रचार समितिको बैठकलाई सम्बोधन गर्दै दाहालले भने, “एमालेले जमिनमा काम गरेको छ, तर केही शक्तिहरू डिजिटल्ली अफवाह फैलाउन सक्रिय छन्।”
विशेषगरी युवा पुस्तामा देखिएको ‘बालेन प्रभाव’ र स्वतन्त्र उम्मेदवारीको चर्चालाई चिर्न एमालेले वडा, टोल र घरदैलो अभियानलाई तीव्रता दिएको छ।
दाहालले सामाजिक सञ्जालमा फैलाइएका हल्लाहरूलाई चिर्नु पार्टीको मुख्य दायित्व भएको र ‘फिजिकल’ कामको जवाफ ‘डिजिटल’ अफवाहले दिन नसक्ने तर्क गरेका छन्।
‘देशी-विदेशी घेराबन्दी’का विरुद्ध एमाले एकताबद्ध हुनुपर्नेमा दाहालले जोड दिएका छन्।
झापा ५ मा ओलीको विकासको मोडेल र बालेनले नेतृत्व गरेको वैकल्पिक राजनीतिको यो वैचारिक र चुनावी प्रतिस्पर्धालाई अहिले निकै चासोका साथ हेरिएको छ।