कांग्रेस सभापति गगनले नौटङ्की गर्दै नगर्ने, बरू मतदाताको मनमा फुलबुट्टा भर्ने

मंगलबार, माघ १३, २०८२

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सकेसम्म बढी समय आफ्नो निर्वाचन क्षेत्रमै बिताउने प्रतिबद्धता जनाएका छन् । 

सर्लाही पुगेका उनले मतदातासँगको भेटमा अन्य नेताहरूझैँ हतारमा आएर हात हल्लाउने, फोटो खिच्ने र फर्किने शैली नअपनाउने बताएका हुन् । उनले भने, ‘म यहाँबाट मात्र होइन, अन्य निर्वाचन क्षेत्रहरू पनि जान्छु किनकि पार्टीको जिम्मेवारी छ । त्यसपछि फेरि यहाँ फर्किन्छु र सम्भव भएसम्म बढीभन्दा बढी दिन यहाँ नै बस्छु । जति सकिन्छ, त्यति गाउँ-गाउँ पुग्छु । तर, चुनावको बेला हतार-हतारमा आएर सबै समस्या ढाकछोप गर्ने, फोटो खिच्ने, हात हल्लाउने र त्यसपछि ‘छुमन्तर’ हुने काम म गर्दिनँ ।’

उनले पार्टीका केही नेताहरूले ‘दुई लाइन भए पनि स्थानीय भाषामा बोल्न सिक्नुस्’ भने पनि आफूले नमानेको बताए । उनले भने, ‘म दुई लाइन यहाँको भाषा रटेर, रातभरि घोकेर आएर बोल्ने गर्दिनँ । म यहाँको भएपछि ६ महिना, ८ महिना वा जति समय लागे पनि यहाँका प्रत्येक व्यक्तिलाई नामले चिन्ने बनाउँछु । ९–१० महिनापछि एक लाइन होइन, माइक समातेरै यहाँको भाषामा भाषण दिन सक्ने हुन्छु ।’

उनले यो कुनै नौटङ्की वा चटक नभएर जिम्मेवारीपूर्वक मतदाताको साथी, भाइ र छोराको भूमिका निर्वाह गर्ने प्रयास भएको थापाले बताएका छन् । ‘म नौटङ्की गर्दिनँ, चटकेजस्तो पनि कुरा गर्दिनँ । जिम्मेवार भएर तपाईँहरूको साथी, भाइ, छोराको जिम्मेवारी पूरा गर्न चाहन्छु,’ उनले भने । 

थापाले फागुन २१ सम्म वडागत रूपमा छलफल गर्ने, कार्ययोजना बनाउने र त्यसअनुसार सबै लाग्ने बताए । ‘तपाईँहरू सबैको साथ-सहयोग रहन्छ भने हामी वडागत छलफल गर्छौँ, कार्ययोजना बनाउँछौँ र त्यसमा सबै जना मेहनत गर्नुहुन्छ,’ उनले भने ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्