सोसल मिडिया
युनिकोड
गोरखा-२ बाट उम्मेदवारी दिएका डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत ‘लाइभ’ आफ्नो धारणा राख्दै डा. भट्टराईले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्।
गोरखा-२ मा उम्मेदवारी दिएका युवा र गोरखाका जनताको सुझाव सल्लाहका आधारमा उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उनको भनाइ छ। ‘मैले आज मनोनयन पत्र फिर्ता लिने निर्णय गरेको छु,’ भट्टराईले भने।
गोरखाका युवा, नागरिक अगुवा तथा बुद्धिजिवीले एउटा दलमा समिति हुनुभन्दा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेको उनले बताएका छन्। ‘संघीय निर्वाचनमा सहभागी भएर सांसद मात्रै रहनुभन्दा बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक अभिभावकीय भूमिका निर्वाह गर्न उपयुक्त हुने सबैले सुझाव सल्लाह दिएका छन्,’ डा. भट्टराईले भने।
गोरखा-२ प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीबाट भट्टराईले उम्मेदवारी दिएका थिए। त्यस्तै, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपा (एमाले)बाट मिलन गुरुङ (चक्रेमिलन), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट लेखनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कविन्द्र वुर्लाकोटी उम्मेदवार छन्।