ओलीकै कारण संसद विघटन गर्नुपर्ने अवस्था आएको योगेश भट्टराईले गरिदिए ठोकुवा 

बुधबार, माघ ७, २०८२

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते नै राजीनामा दिएको भए संसद विघटन गर्नुपर्ने अवस्था नआउने बताएका छन् ।

बुधवार बिहान ताप्लेजुङमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनको पहिलो दिन नै ओलीले राजीनामा दिएर संसदबाटै सरकार निर्माणको पहल गरेको भए संसद् जीवित हुनसक्ने अवस्था औंल्याएका हुन् । उनले भदौ २४ गतेको घटनालाई संगठनात्मक र सुनियोजित विध्वंस भनेका छन् ।

साथै उनले सरकारको असावधानी, फितलो सुरक्षा व्यवस्था र सही दृष्टिकोणले सुरक्षाफौजको परिचालन हुन नसक्दा नवयुवाहरूको मृत्यु हुन पुगेको बताए ।

तत्कालीन सरकारले आन्दोलनरत पक्षसँग वार्ताका लागि देखाएको उदासीनताले समेत घटना उत्तेजित हुन पुगेको उनको ठम्याइ छ । ताप्लेजुङबाट आफू पनि प्रतिनिधिसभाको उम्मेदवार बन्न इच्छुक रहे पनि पार्टीले युवा नेता क्षितिज थेबेलाई चयन गरेकोले चयन भएका उम्मेदवार अब एमालेको साझा उम्मेदवारको रूपमा हुने भट्टराईले बताए ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्