सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सस्थापक नेता तथा जननिर्वाचित नेपालकै पहिलो प्रधानमन्त्री विपी कोइरालाका कान्छा छोरा डा. शंशाक कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट १८ वर्षपछि चुनाव लड्नबाट बञ्चित भएका छन् । लगातार ४ पटक सो क्षेत्रबाट जितेका शशांकले यो पटक टिकट पाएनन् । उनी कांग्रेसका पूर्व महामन्त्री समेत हुन्।
उनको ठाउँमा गजेन्द्रबहादुर आलेमगरलाई टिकट दिइएको छ । टिकटका लागि शशांकले आफ्ना प्रतिनिधिमार्फत् सोमबार मध्यरातसम्म लबिङ गरेका थिए।
सोमबार दिउँसो देखिनै शशांकले फेरि टिकट पाउने हल्ला चलेपछि स्थानीयहरूले लगातार पाँचौ पटक एउटै व्यक्तिलाई टिकट दिन नहुने भन्दै सामाजिक सञ्जालमा चर्को विरोध गरेका थिए । डा शशांकले २०६४,२०७०,२०७४ र २०७९ मा चुनाव जितेका थिए ।
सभापति गगन थापा निकट एक केन्द्रीय सदस्यले सामाजिक सञ्जालको विरोध र स्थानीय नेता कार्यकर्ताले निरन्तर भेटेर दवाव दिएपछि संसदीय बोर्ड टिकट दिन पछि हटेको बताए। कोइरालाको स्थानमा टिकट प्राप्त गरेका आले कांग्रेस महासमिति सदस्य हुन् ।
गैंडाकोट नगरपालिकाका उनले यस अघि गैंडाकोट नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेर उपविजेता बनेका थिए। नवलपुरको क्षेत्र नम्बर २ मा भने बिष्णु प्रसाद लामिछानेले टिकट प्राप्त गरेका छन् । उनी कांग्रेसका गण्डकी प्रदेश समितिका महामन्त्री हुन् ।