देउवा पत्नी आरजुलाई टिकटमा तगारो, कैलालीमा को-को छानिए ?

सोमबार, माघ ५, २०८२

नेपाली कांग्रेसले कैलालीको ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। 

नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारका अनुसार ५ वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभाका उम्मेदवार टुंगो लागेको हो।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री आरजू राणा देउवाले कैलालीबाट टिकट पाएकी छैनन्। कैलाली निर्वाचन क्षेत्र ५ बाट सिफारिसमा परेकी उनले टिकट पाइनन्।

०७४ को चुनावमा उनी कैलाली ५ मा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन्। ०७९ को चुनावमा पनि कैलाली ५ मै लड्न चाहेकी उनलाई असुरक्षित देखिएपछि डडेल्धुराबाट समानुपातिकमा राखिएको थियो।

कैलाली ५ मा कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह (मनु)ले टिकट पाएका छन्। कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा यसअघि जितेका वीरबहादुर बलायरलाई कांग्रेसले यसपटक पनि चुनावी मैदानमा उतारेको छ। 

पूर्वमन्त्री समेत रहेका बलायर कांग्रेस सुदूरपश्चिमका सभापति हुन्। कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर १ जनकराज चौधरी, प्रतिनिधि सभा क्षेत्र नम्बर २ विजय स्वार र प्रतिनिधि सभा क्षेत्र नम्बर ३ भीम बडुवाल कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन्।

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २०:२१
प्रतिक्रिया दिनुहोस्