सोसल मिडिया
युनिकोड
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिता आयोगले विधि र पद्धति अनुसार निर्धारण गर्ने बताएका छन्।
शुक्रबार निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका कांग्रेस नेताहरूसँगको कुराकानीमा भण्डारीले राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन, र कानुन रहेकाले सोहीअनुसार निर्णय हुने बताएका हुन्।
‘निर्वाचन आयोगको आफ्नो विधि, परम्परा छ। संविधान, ऐन, कानून छ। यसको परिधिभित्र रहेर निर्वाचन आयोगले निर्णय गर्ने हो,’ भण्डारीले भने।
निर्वाचन आयोग विधि र पद्धतिभन्दा बाहिर नजाने उनको भनाइ थियो। ‘निर्वाचन आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्नेछ। हाम्रो संस्थागत परम्परा पनि छ,’ उनले भने।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पदाधिकारी शुक्रबार बिहान आयोगमा पुगेका थिए। उनीहरूले आफूहरूले आधिकारिता पाउनुपर्ने दाबीसहित कागजात बुझाएका छन्।
यसअघि बिहीबार गगन थापा नेतृत्वको टोली पनि आयोग पुगेको थियो। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको उल्लेख गर्दै आधिकारिता पाउनुपर्ने दाबीसहित कागजात बुझाएको थियो।