टसको मस देखिएनन् देउवा, गगन र विश्वको के हुन्छ अबको रणनीति ?

बुधबार, पुस ३०, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भएको छलफलले कुनै ठोस निष्कर्ष निकाल्न सकेन ।

सभापति छाड्नेलगायतका विशेष महाधिवेशन पक्षधरले उठाएका कुनै पनि माग सम्बोधन गर्ने कुरामा देउवाको सहमति नरहेको महामन्त्रीद्वय निकट स्रोतले जानकारी दियो ।

तर देउवा निकट नेता रमेश लेखकले भने देउवाले उमेदवारहरूको टिकटमा आफ्नो हस्ताक्षर हस्तान्तरण गर्ने विषयमा लचकता देखाएको बताए । महामन्त्रीद्वय थापा र शर्मासँग आफ्नै निवास महाराजगन्जमा गरेको छलफलमा देउवाले हस्ताक्षर अरुलाई दिने विषयमा आफू ‘रिजिड’ नरहेको बताएका थिए ।

“उहाँहरुले सभापतिको हस्ताक्षर नचलाउने गरी बटम लाइन बनाउनुभएको थियो । त्यसमा सभापतिज्यूले ‘म रिजिड छैन’ म हस्ताक्षर हस्तान्तरण गर्नका लागि तयार छु भनेर वचन दिनुभएको छ,” नेता रमेश लेखकले भने, तर, राष्ट्रिय सभामा सभापतिज्यूको हस्ताक्षर छ । प्रतिनिधि सभामा समानुपातिक तर्फको बन्द सूचीमा सभापतिजीकै हस्ताक्षर छ । अब फेर्न मिल्छ कि मिल्दैन तपाईँहरुले विचार गर्नुस् भन्नुभएको छ ।”

तर महामन्त्री निकट स्रोतले भने देउवाले अलमल्याउने र समय घर्काउने मात्रै कुरा गरेको जनाएको छ ।

“उहाँले विशेष महाधिवेशनले गरेका निर्णय, राजीनामालगायतका विषयमा कुरै गर्नुभएन, त्यसमा छलफल गर्नै तयार हुनुभएन,” स्रोतले भन्यो । उनका अनुसार हस्ताक्षरको विषयमा सामान्य चासो थियो तर अन्य कुरामा टसको मस देखिएनन् । 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्