सोसल मिडिया
युनिकोड
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सजायमुखी आचारसंहिता ल्याएको बताएका छन् । निर्वाचन आचारसंहिता कडाइपूर्वक लागू गर्ने पनि उनको प्रतिवद्धता छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले हामीले सजायमुखी आचारसंहिता ल्याएका छौँ’ उनले भनेका छन्, ‘आचारसंहितामा २०७९ सालमा केही दण्डात्मक व्यवस्था गरेका थियौँ अहिले हामीले निर्वाचन कसुर सजाय ऐन अनुसार सजायकै व्यवस्था गरेका छौँ ।’
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई अप्ठ्यारो भए आयोगले सिधै कार्यान्वयन गर्ने पनि उनले बताएका छन् ।
‘यदि कसैले आचारसंहिता उल्लघंन गरेको प्रमाण भयो भने उम्मेदवारको मनोनयन पत्र खारेज गर्नेसम्मको अधिकार तपाईँहरूसँग हुन्छ । त्यो अधिकार यहाँहरूले प्रयोग गर्नुभएन भने आयोगलाई सिफारिस गर्न सक्नुहुन्छ । सिफारिस गरेर पठाउनुस् आयोगले तत् क्षण नै निर्णय गरेर त्यो कार्यान्वयन गर्छ’ भण्डारीले भने ।
यहीँनेर उनले आचारसंहिता कडाइपूर्वक लागू गरिने बताएका हुन् । उनले भनेका छन्, ‘आचारसंहिता कार्यान्वयनको सन्दर्भमा कुनै पनि मोलाहिजा गर्ने अनदेखा गर्ने छुट छैन । यसमा आयोगले शून्य सहनशीलता प्रयोग गर्छ र कडाइका साथ परिपालन गराउनुपर्छ ।’
आचारसंहिताबारे दल र दलका उम्मेदवारहरूलाई अथवा दलका कार्यकर्ताहरूलाई प्रशिक्षित गर्न जरुरी रहेको पनि उनले बताएका छन् दलका नेता, उम्मेदवार र प्रतिनिधि प्रशिक्षित भएनन् भने मतदातासमक्ष गएर आचारसंहिता कसरी परिपालन गराउन कठिन हुने भन्दै उनले थपेका छन्, ‘हाम्रो टड्कारो आँखा चाहिँ आचारसंहिता कार्यान्वयन र परिपालनामै हुनुपर्छ ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी थप्छन्, ‘ आचारसंहिता उल्लघंन गरेको हेर्ने छुट छैन । निर्वाचनको सन्दर्भमा कुनै पनि कानुन प्रतिकूलको काम अनदेखा गर्ने छुट छैन ।’
निर्वाचन पर्यवेक्षकहरूले समेत अनेक किसिमका गतिविधि गर्न सक्ने भन्दै उनले उनीहरूका गतिविधिमा समेत निगरानी हुने बताए ।