एकताको चारोले लोभ्याएपछि बल्छिमा परेका कुलमानलाई त्यागेर रिमा उतै अल्झिईन्

आइतबार, पुस २७, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि बुझाएको समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरेको छ। 

निर्वाचन आयोगले सूची सच्याउन आजसम्मको समय दिएकोमा रास्वपाले त्यसलाई अद्यावधिक गरेर पठाएको हो। प्रवक्ता मनीष झाका अनुसार आज बिहान उम्मेदवारको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाइएको हो। 

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र उज्यालो नेपालबीच एकता सम्झौता गरेको रास्वपाले दुवै पक्षका नाम समेत समेटेर पुस १३ गते निर्वाचन आयोगमा ११० जनाको नाम पठाएको थियो। 

त्यसमध्य कुलमान घिसिङको पार्टी उज्यालो नेपालको तर्फबाट १४ जना परेका थिए। तर, समानुपातिक सूची सच्याउने अन्तिम समयको अघिल्लो दिन शनिबार नै रास्वपा र उज्यालो नेपालबीचको एकता सहमति भंग भएको छ। 

रास्वपासँग कुरा नमिलेको भन्दै घिसिङले उज्यलो नेपाल पार्टीलाई नै अघि बढाउने घोषणा गरिसकेका छन्। यस्तो अवस्थामा प्रश्न उठ्छ-रास्वपाले कुलमान पक्षबाट समानुपातिक सूचीमा समेटिएका नाम राख्यो कि हटायो?

प्रवक्ता झाले केही उज्यालो नेपाल पार्टीबाट राखिएका केहीको नाम हटाएको र केहीको राखेको बताए। ‘केही परिवर्तन भएको छ,’ झाले भने, ‘मिक्स भएको छ। पुरै हटाएको पनि छैन। पुरै राखेको पनि छैन।’

अनि कुन-कुन नाम राखियो र कुन- कुन हटाइयो भन्ने प्रश्नको भने उनले जवाफ दिन अस्वीकार गरे। ‘यो निर्वाचन आयोगको सम्पत्ति भइसक्यो, हामीले भन्न मिल्दैन,’ झाले भने।

घिसिङ पक्षले बुझाएका नाममध्य महेन्द्र लावती र त्रिशला गुरुङले भने यसअघि नै नाम फिर्ता लिइसकेका थिए। त्यस्तै कुलमानको पार्टीका उ बेलाका अध्यक्ष अनुपकुमार उपाध्यायको नाम काटिएको छ भने रिमा विश्वकर्माको नाम हटेको छैन। 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्