कांग्रेसले एकले अर्कोलाई बाटो छेक्ने, विशेष महाधिवेशन रोक्न के-के गरिँदैछ ?

बिहीबार, पुस २४, २०८२

नेपाली कांग्रेसको लफडाले उग्र रुप लिंदै जाँदा एकले अर्काको बाटो छेक्ने क्रम सुरु भएको छ। २७ र २८ पुसमा हुने विशेष महाधिवेशनलाई काउन्टर दिन संस्थापन समूहले पार्टी कार्यालयमा कार्यक्रम गर्ने भएको छ ।

भर्खरै सभापति शेरबहादुर देउवानिवासमा संस्थापन समूहका शीर्षनेताहरूको बैठकले काउन्टर कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकमा सभापति देउवा सहितनेताहरू बालकृष्ण खाँण, एनपी साउद, जितजंग बस्नेतसहित नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, महिला संघ अध्यक्ष उषा राउत, तरुण दल अध्यक्ष विद्वान गुरुङलगायतको सहभागिता थियो ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार २७ पुसमा पार्टी अफिसमा तरुण दलले युवा भेला गर्ने निर्णय भएको छ, जसको संयोजन तरुण अध्यक्ष विद्वान गुरुङले गर्नेछन् । त्यस्तै, २८ पुसमा जिल्ला सभापतिहरूको भेला गर्ने तयारी भएको छ, जसको समन्वय केन्द्रीय सदस्य जितजंग बस्नेत र भक्तपुर सभापति दुर्लभ थापालाई दिइएको छ ।

‘विभिन्न कार्यक्रम गर्ने गरी छलफल र तयारीहरू भइरहेका छन्,’ देउवानिवासबाट निस्किएका एक नेताले भने । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा २७ र २८ पुसमा कांग्रेसभित्र विशेष महाधिवेशनको तयारी छ, जसलाई काउन्टर दिन संस्थापन समूहबाट विभिन्न तयारी भइरहेको स्रोतले बतायो ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्