सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान देउवा निवास महाराजगञ्जमा कोइराला नेता डा. मिनेन्द्र रिजालाई साथमा लिएर पुगेका थिए। विशेष महाधिवेशनका नाममा पार्टीभित्र उत्पन्न विवादबारे सभापति देउवासँग आफूहरु कुराकानी गर्न पुगेको नेता रिजालले जानकारी दिए।
‘पार्टीभित्रको विवादबारे हामीलाई धेरै थाहा छैन। बुझौं भनेर सभापतिजीको गएका हौं,’ उनले भने, ‘पार्टी एकताबद्ध रहोस् भन्ने हो हाम्रो कुरा हामीले सभापतिलाई त्यही भन्यौँ।’
कांग्रेसले १५ औं महाधिवेशन आगामी वैशाख २८-३१ का लागि तोकिएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन्।
यसले पार्टीमा विवाद उठाएपछि नेता कोइराला विशेष महाधिवेशनलाई संकल्प सम्मेलनमा रुपान्तरण गर्नुपर्ने पक्षमा देखिएका छन्। देउवासँगको भेटमा पनि विशेष महाधिवेशननलाई संकल्प सम्मेलनमा लैजाने कुरामा पहल गर्न कोइरालाले सुझाएका थिए। आजै कांग्रेसको कार्यसम्पादन समितिको बैठक पनि बस्दैछ।