१८ देखि ५४ वर्ष सम्मका लाई म्यादी प्रहरीमा भर्ती हुने बाटो खुल्यो, तलब कति हुन्छ ?

सोमबार, पुस २१, २०८२

फागुन २१ गते हुने भनिएको  प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने सरकारले निर्णय गरेको छ। ‘निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत भए संगै अब निर्वाचन प्रहरी भर्ना गर्ने बाटो खुलेको छ। 

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन हुने गरी मापदण्ड स्वीकृत गरिएको हो । १० दिन तालीम र ३० दिन कार्यस्थलमा खटिने गरी निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड स्वीकृत भएको गृह मन्त्रालयले जनाएको छ ।

भर्ना हुने निर्वाचन प्रहरी नामाकरण गरिएका म्यादीलाई प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायत सेवासुविधा उपलब्ध गराइने छ । रासन सुविधा सम्बन्धित जिल्लाको दररेट अनुसार दिइने छ । रासन, मासिक तलब र पोसाकबापतको खर्च सम्बन्धित व्यक्तिकै बैंक खातामा उपलब्ध गराइने छ । यसका अलवा म्यादी छनोटपछि आउने र जाने तयारी खर्च अन्तर्गत प्रति व्यक्ति ८ सय ४६ रुपैयाँ, ४ दिनको खाजा खर्च एकमुष्ट १२ सय दिइने छ ।

पोसाक भत्ता हिमाल, पहाड र तराइ/मधेस अनुसार फरक फरक हुने उल्लेख छ । नेपाल प्रहरीका लागि निलो डांग्री कपडा, टोपीसहितको हुने छ । सशस्त्र मातहत खटिने निर्वाचन प्रहरीको हकमा सशस्त्रको पोसाकसँग मिल्दोजुल्दो कपडा र टोपी हुनुपर्ने छ ।

निर्वाचनमा नियमित सुरक्षा अन्तर्गत खटिने जनशक्तिलाई निर्वाचन प्रहरीलाई दिए सरह १२ सय रुपैयाँ खाजा खर्च दिइने छ । भर्ना सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी छनौट तथा नियुक्ति समिति रहने मापदण्डमा उल्लेख ।

छनोटका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्रको हकमा सशस्त्रको जिल्लास्थित गण/गुल्ममा निवेदन दिन सकिने छ । नियुक्तिका लागि दुवै प्रहरीले आ–आफ्नो जवान सरहको पाठ्यक्रमका आधारमा छनोट विधि तय हुने मापदण्डमा उल्लेख छ । १८ वर्षदेखि ५४ वर्ष उमेर समूहका मानिसले भर्नाका लागि आवेदन दिन सक्नेछन् ।
 

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्