जेनजी आन्दोलन जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री ओलीलाई आजै निम्तो पठाउने 

शुक्रबार, पुस १८, २०८२

जेनजी आन्दोलनका क्रममा भएको दमन र घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने अन्तिम तयारी गरेको छ । आयोगले सम्भवतः आज शुक्रबार नै पूर्वप्रधानमन्त्री ओलीलाई बयानका लागि औपचारिक पत्र काट्ने तयारी गरेको हो ।

यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग सोमबार र बुधबार बयान लिएको थियो । लेखकको बयान सकिएसँगै उनीमाथि लगाइएको स्थानहद समेत आयोगले हटाएको छ । यता ओलीले भने यसअघिदेखि नै आफूले आयोगमा बयान नदिने बताउँदै आएका छन् ।

ओलीलाई पत्र काट्नुअघि आयोगका पदाधिकारीहरूले बिहीबार वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए । जेनजी आन्दोलनसँग जोडिएका अन्य उच्चपदस्थ अधिकारीहरूको बयान लिने काम लगभग सकिएको छ । अब ओलीको बयान मात्र बाँकी रहेको र त्यसपछि प्रतिवेदन लेखनको प्रक्रिया सुरु हुने आयोगका एक अधिकारीले जानकारी दिए ।

आयोगले आगामी माघ ९ गतेभित्रै सरकारलाई छानबिन प्रतिवेदन बुझाउने लक्ष्यका साथ काम गरिरहेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपाली राजनीतिमा ठूलो तरंग ल्याएको थियो, जसमा राज्य पक्षबाट भएको दमनको विषयलाई लिएर यो उच्चस्तरीय आयोग गठन गरिएको हो । अब ओलीको बयानपछि प्रतिवेदन तयार पार्न आयोगलाई सहज हुने बुझिएको छ। 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्