पर्वतमा हुदाँ भ्रष्ट्राचार गरेका बाग्लुङका सिडिओ निलम्बित

बिहीबार, पुस १७, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिकामा ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङसहित चार जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गुरुङ अहिले बागलुङको सिडिओ छन्। मुद्दा दर्ता हुनासाथ उनी निलम्बनमा परेका छन् ।

आयोगले बिहीबार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरुङ, तत्कालीन लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य तथा मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्सविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अभियोगपत्र अनुसार आर्थिक वर्ष २०७८/७९ मा खरेहास्थित ज्येष्ठ नागरिक भवन निर्माणका क्रममा ठेक्का सम्झौता बमोजिम तोकिएको समयसीमाभित्र निर्माण कार्य सम्पन्न नभए पनि खरिद सम्झौता अन्त्य नगरी बाँकी कार्यबराबरको रकम असुल उपर गरिएको थिएन। साथै, पेस्की फर्स्यौट नगरी भुक्तानी दिई सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गराइएको आयोगको दाबी छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत गुरुङ र मल्ल कन्स्ट्रक्सन एन्ड सप्लायर्स तथा त्यसका प्रोप्राइटर लालबहादुर मल्लको हकमा एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ बिगो कायम गरिएको उल्लेख छ।

त्यसैगरी तत्कालीन लेखा अधिकृत शर्मा विरुद्ध १७ लाख दुई हजार ३४१ रुपैयाँ र इन्जिनियर शाक्यविरुद्ध ९६ लाख ४१ हजार ८७४ रुपैयाँ बिगो मागदाबी गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्