सोसल मिडिया
युनिकोड
पोखराको लिची बगैँचा जग्गा प्रकरणमा पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउन आदेश गरेको छ।
न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो ।
बुधबार अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो।
एमालेका तत्कालिन सांसद गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदमा नियुक्ति पाएको र मन्त्रीबाट राजीनामा दिएको गते एउटै परेको थियो।
उनी २०८१ असार ३१ गते मन्त्रीमा नियुक्त भएका थिए । उनले त्यसको ठ्याक्कै १ वर्षपछि २०८२ असार ३१ गते नै पदबाट राजीनामा दिएका हुन्।
७८ लाख घुस मागेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिनु परेको थियो ।
सार्वजनिक अडिओमा तत्कालीन मन्त्री गुप्ताले २०८१ पुस अन्तिमतिर कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोगको कास्की जिल्ला अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको कुराकानी छ।
त्यसो त गुप्ताले ५३ लाख घुस लिएको दाबी गर्दै रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको थियो। अख्तियारले गत असोज २२ गते विशेषमा मुद्दा दायर गरेको थिए ।
पर्साको तत्कालीन भौराटार ६ मा २०२७ चैत २० जन्मिएका गुप्ता वीरगञ्ज ११ श्रीपुर निवासी हुन् ।