एमाले सचिवमा हारेका गोकुलले उपाध्यक्ष जितेका बादललाई बर्षाए डण्डा

बुधबार, पुस १६, २०८२

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई समानुपातिक सूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न सुझाव दिएका छन्। गोकुल एमाले सचिवमा हालसालै पराजित भएका थिए। 

उपाध्यक्ष बादलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले र कांग्रेसबीच चुनावी सहकार्य हुनुपर्ने धारणा सार्वजनिक गरेको भोलिपल्ट बास्कोटाले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘समानुपातिक कोटामा आफैंलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेताहरू पटक-पटक बस्दै आएपछि यो प्रणालीप्रति विरोध हुनु स्वाभाविक हो। अझ ती नेताहरू नै रुख र सूर्य मिलेर चुनावमा जानुपर्छ भन्छन्। रुख-सूर्य मिलेर चुनाव लड्ने हो भने लडून्। अहिले त नाम फिर्ता लिए हुन्छ, पटक-पटक समानुपातिकमा बस्नेहरूले। समावेशीताको नै बेइज्जत नगर-त्यो पनि पुरुषहरूले,’सामाजिक सञ्जालमा उनी लेख्छन्।

मंगलबार मदन-आश्रित प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा बादलले कांग्रेस-एमाले सहकार्यले राष्ट्रिय स्वाधीनता र अस्तित्व जोगाउन मद्दत गर्ने भन्दै आधा-आधा सिट बाँडफाँट गरेर चुनाव लड्न सकिने बताएका थिए।

बादलको उक्त अभिव्यक्तिप्रति एमालेभित्रै असन्तुष्टि देखिएको छ। सोही सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बास्कोटाले आफूलाई लोकप्रिय र शक्तिशाली ठान्ने नेताहरू बारम्बार समानुपातिक प्रणालीमार्फत संसद् पुग्नु उचित नभएको टिप्पणी गरेका छन्। उनले रुख (कांग्रेस) र सूर्य (एमाले) मिलेर चुनाव लड्ने कुरा गर्ने नेताहरू स्वयं प्रत्यक्ष चुनावमा जानुपर्ने धारणा राखेका छन्।

यस्तै, पूर्वसांसद् एवम् एमाले नेतृ ईश्वरी जीएमले पनि बादलको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि देखाएकी छन्। उनले यदि कांग्रेससँग मिलेर जाने भए बादल किन प्रत्यक्षमा चुनाव नलडेको भन्ने प्रश्न गरेकी छन्।

‘कांग्रेससँग मिलेर चुनाव लडेको भए तपाईंको जित पनि प्रत्यक्षमै सुनिश्चित हुन्थ्यो होला नि, उपाध्यक्ष कमरेड? कति राम्रो सन्देश पनि जाने थियो! बेकारमा यत्रो हेभीवेट नेता समानुपातिकको पहिलो नम्बरमा बस्दा पहिलो कुरा, आदिवासी जनजाति समुदायका अन्य धेरै व्यक्तिहरू अवसरबाट बञ्चित भए। दोस्रो कुरा, सारा देश हाँसेको छ,’ सामाजिक सञ्जालमा उनी लेख्छिन्।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्