तीन मन्त्रालय हाँकेका मन्त्री अनिलले उद्योग मन्त्रालयका सहसचिव चलाए, डिजी बने बस्नेत

मंगलबार, पुस १५, २०८२

सुशीला कार्की सरकारको तीन मन्त्रालयका एक्ला मन्त्री अनिल कुमार सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका सहसचिवहरूलाई यताउता पारेका छन् । 

उद्योग विभागको महानिर्देशक (डिजी) फेरिएका छन् । जागिर खान सचिव कृष्णहरि पुष्कर कर्ण हाराहारीकै सिपालु राजेश्वर ज्ञवालीलाई विभागको डिजी बाट तानेर मन्त्रालय ल्याइएको छ । काठमाण्डौको सिडिओ चलाई सकेका सहसचिव जीतेन्द्र बस्नेतलाई उद्योगको डिजी बनाएर पठाईएको छ ।

१४ महिना उद्योग विभागमा रजगज गरेका ज्ञवालीले मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा पाएका छन् । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञवालीलाई भने चलाइएको छैन। 

औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुख बस्नेतलाई उद्योग विभागको डिजीमा पठाउँदै उक्त महाशाखा खोटाङको सिडिओबाट उद्योग छिरेकी कल्पना श्रेष्ठलाई दिइएको छ। 

निर्वतमान मुख्यसचिव एकनारायण अर्यालका दहिना नारायणप्रसाद अर्याललाई प्रशासन तथा संस्थान महाशाखा प्रमुख तोकिएको छ। उनी एकनारायण घर गएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योगतिर फड्को मारेका थिए।

उद्योगको प्रशासन तथा संस्थान महाशाखा प्रमुख हुमकला पाण्डे भने बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा पुगेकी  छिन्। उक्त महाशाखा सुदूरपश्चिम प्रदेश सरूवा भएका सहसचिव देवराज जोशीले हेर्दै आएका थिए। 

सार्वजनिक खरिद अनुगमन कार्यालयबाट उद्योग मन्त्रालय पुगेका सहसचिव रामबन्धु सुवेदीलाई औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखाको जिम्मेवारी दिइएको छ। उक्त महाशाखा हालै लुम्बिनी प्रदेश सरूवा भएका पूर्व सचिव मधुकुमार मरासिनीका सहोदर भाइ शम्भुप्रसाद मरासिनीले हेर्दै आएका थिए। योजना, अनुगमन तथा मूल्यांकन महाशाखा सल्यानको सिडिओबाट आएका नेत्रप्रसाद सुवेदीले पाएका छन्। सुवेदीकी पत्नी टिका ढकाल हालसालै मात्र एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । 

मन्त्री सिन्हाले उद्योग, कानून र पर्यटन मन्त्रालय चलाईरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्