जेनजी जाँचबुझ आयोगले ८ गते पठाएको निम्तो मान्न रमेश लेखक सिंहदरबार पुगे

सोमबार, पुस १४, २०८२

तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिन आज (पुस १४) सिंहदरबार पुगेका छन् । उक्त दुई दिनका घटनाबारे उनले आयोग पदाधिकारीलाई बताउनेछन् ।

लेखकले आजै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक पनि गर्ने उनको सचिवालयले जनाएको छ ।

लेखकलाई यही पुस ८ गते बयानका निम्ति आयोगले पत्राचार गरेको थियो ।

आयोगले उक्त समयमा पदमा बहाल सरोकारवाला सरकारी अधिकारीहरूसित यसअघि नै बयान लिइसकेको छ । बयान लिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखक मात्र बाँकी हुन् । बयानका निम्ति ओलीलाई पत्राचार गरिएको छैन ।

गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारले त्यसक्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न आयोग बनाएको हो । उक्त दुई दिनका घटनामा ७६ जनाको मृत्यु भएको थियो । धेरैजना अझै घाइते छन् 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्