सोसल मिडिया
युनिकोड
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष डा.मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
आज बिहान नेकपाका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमै परियारलाई पार्टीमा स्वागत गरेका प्रचण्डको सचिवालयले जनाएको छ।
परियारलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले उनीजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।
गत साता श्रम संस्कृति पार्टीले बुटवलमा गरेको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति राम्रो व्यवहार नगरेको भन्दै साम्पाङले परियारलाई कारबाही गरेका थिए।
परियार सामाजिक अभियन्ता हुन्। केही दिनअघि परियारले अध्यक्ष राईले आफूलाई ‘बालीघरे दमाईं’ सम्झिएको टिप्पणी गरेका थिए।
‘फेसबुकमा दोहोरी खेल्न मन त थिएन, तर कुरा गर्न हर्क राईको फोनै नउठ्ने रहेछ। निलम्बनको चिठी देखेपछि यति लेख्न बाध्य भएँ’, परियारले सामाजिक सञ्जालमा लेखेका थिए, ‘लन्डनमा पढाउन छाडेर जातीय मुक्तिका लागि संघर्ष गर्न फर्केको मान्छेलाई धराने मेयरले बालीघर सिउने दमाईं सम्झिनुभएछ! तपाईंको भाषण डेढ घण्टा सुनिदिनुपर्ने! मेरो भाषणचैँ दुई मिनेट नसुन्ने? कसैको रैती बन्न सकिन्छ?’