सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि विगतका सरकारले प्रतिशोध गरेको भन्दै अहिले सरकारले सच्याइदिनुपर्ने माग राखेको छ ।
आइतबार राति सरकार र रास्वपाका नेताहरूबीच बालुवाटारमा वार्तापछि रास्वपा नेतृ सोबिता गौतमले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरकारसमक्ष माग राखेकी हुन् । यद्यपि, सम्पन्न बैठकको मुख्य विषय यो नभएर निर्वाचन भएको उनले जानकारी दिइन् ।
‘विगतको सरकारले जुन राजनीतिक प्रतिशोध साँध्यो, त्यो कुन हदसम्म राजनीतिक प्रतिशोध भाको हो त । प्रधानमन्त्रीले प्रतिशोध भा छ भनेर भन्नुभएको छ, क्याबिनेटमा बसेका मिनिस्टरहरूले प्रतिशोध भा छ भनेर भन्नुभएको छ भनसी कुन हससम्म राजनीतिक प्रतिशोध भयो त ? त्यो प्रतिशोध उहाँहरूलाई लाग्छ भने तीचाहिँ करेक्सन गर्दिनुपर्छ’, गौतमले भनिन् ।
उनले अगाडि भनिन्, ‘सरकारले हिजोको दिनमा अधिक अभियोजन गर्दाखेरि जुन किसिमको पावर एक्सर साइज गर्यो आफ्नोतर्फबाट । अब आफ्नो पावर चाहिनेभन्दा बढी प्रयोग गर्दा त्यो पनि भ्रष्टाचार हो नि त होइन, पद र पावरको दुरुपयोग गर्नु त्यो पनि भ्रष्टाचार हो । हिजोको दिनमा सरकारले जुन किसिमको पावर एक्सरसाइज गरेर अधिक अभियोजन गर्नतर्फ लाग्यो । ती कुराहरूलाई सच्याइदिनुस्, करेक्सन गरिदिनुस्, सरकारको आफ्नो कहाँसम्म हात छ, त्यो क्षेत्राधिकारसम्म त्यसलाई सच्याइदिनुपर्छ भन्ने हाम्रो डिमाण्ड हो ।’
सहकारी ठगीसम्बन्धी मुद्दामा सभापति लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको टोली उनीसहित आइतबार राति प्रधानमन्त्रीलाई भेट्न सरकारीनिवास बालुवाटार पुगेको थियो । रिहालगत्तै प्रधानमन्त्रीलाई भेट्न पुगेका लामिछानेले चुनावको कुरासँगै आफ्नो मुद्दाको विषयमा पनि सरकारलाई अवगत गराएका हुन् ।
त्यस्तै, रास्वपाका अर्का नेता शिशिर खनालले प्रधानमन्त्रीसँग निर्वाचनको विषयमा कुराकानी भएको बताएका छन् । उनले सरकारलाई आफ्नो पनि निर्वाचनमा जान तयार भएको भनी बताएको जानकारी दिए ।
‘निर्वाचन हुनेमा ढुक्क भएर हाम्रा गतिविधहरू अगाडि बढाइरहेका छौँ । सरकारको तयारीको अवस्था के हो ? साँच्चिकै सरकारको तयारीले फागनु २१ मा चुनाव हुन्छ कि हुँदै भन्ने प्रश्नमा अलि बढी आज र समासामयिक विषयमा आज केन्द्रित भयौँ’, बैठकबाट निस्किएपछि खनालले भने ।