प्रधानमन्त्रीले सरकारी कर्मचारीले हप्तामा एकदिन परम्परागत पोशाक लगाउने व्यवस्था मिलाउने

आइतबार, पुस ६, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छिन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमशः हटाउँदै जानुपर्ने भए पनि मौलिक परम्परा र वेशभूषा भने संरक्षण गर्नुपर्ने उनको भनाइ छ।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग आइतबार भएको भेटमा उनले सरकारी कार्यालयहरूमा पनि हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आफ्ना परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने बताइन्।

‘कतिपय समाज अहिले आफ्नो पहिचान खोजिरहेका छन्, आधुनिकताका नाममा मौलिकता बिर्सँदै गएको देखिन्न्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘आफ्नो पहिचान के हो भन्ने नै थाहा नपाउने अवस्था छ। तर हामी नेपालीहरूसँग विविध र मौलिक संस्कृति तथा परम्परा छन्, जसलाई जोगाउनैपर्छ। बरु सरकारी कार्यालयहरूमा हप्तामा एक-दुई दिन परम्परागत पोसाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्न सकिन्छ।’

भेटका क्रममा परिषद्ले आउँदो पुस १५ गते आयोजना हुने तमु ल्होसारसम्बन्धी कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री कार्कीलाई आमन्त्रण गरेको छ। परिषद्का महासचिव राजु गुरुङले निमन्त्रणा पत्र वाचन गरेका थिए।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्