ओलीका सदाबहार दाहिना विष्णुलाई मतदाताले देब्राए, पदाधिकारीमा को-को आए ?

बिहीबार, पुस ३, २०८२

एमालेको ११औं महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै पार्टीको कमान्ड सम्हालेका हुन्।

अध्यक्ष पदमा केपी शर्मा ओलीले १ हजार ६६३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत मात्र पाए। ओलीले पोखरेललाई १ हजार ९९ मतको फराकिलो अन्तरले हराएका हुन्।

महासचिव पदमा कडा प्रतिस्पर्धाका बीच शंकर पोखरेलले बाजी मारेका छन्। पोखरेलले १,२२८ मत ल्याएर जित हासिल गरे भने उनका प्रतिद्वन्द्वी सुरेन्द्र प्रसाद पाण्डेले ९९९ मत प्राप्त गरे।

५ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक १ हजार ७३७ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा विजयी हुने अन्य चार नेताहरूमा विष्णु प्रसाद पौडेल (१,६७५), रामबहादुर थापा ‘बादल’ (१,५१६), गोकर्णराज विष्ट (१,३६८) र रघुजी पन्त (१,२५८) रहेका छन्।

उपाध्यक्षमा विजयी हुने विष्ट बाहेक अरु सबै ओली प्यानलका हुन्।

उपाध्यक्षका अन्य उम्मेदवारहरू गुरुप्रसाद बराल (१,१३७), बिन्दा पाण्डे (९२१), परशुराम मेघी गुरुङ (४६१), अरुण नेपाल (४३९), टंक प्रसाद कार्की (३५८) र भीम प्रसाद आचार्य (२६५) पराजित भए।

३ जना उपमहासचिव पदमा लेखराज भट्टले सर्वाधिक १ हजार ४५२ मत ल्याएर विजयी भएका छन्।

उनीसँगै रघुवीर महासेठ (१,३६८) र योगेश भट्टराई (१,३४८) विजयी भएका छन्।

विजयी भएकामध्ये दुई जना भट्ट र महासेठ ओली प्यानलका हुन् भने भट्टराई पोखरेल प्यानलका उम्मेदवार हुन्।

कडा टक्करका बीच ओलीका विश्वासपात्र विष्णु रिमाल (१,०९१) चौथो स्थानमा सीमित भए।

यस्तै आनन्द प्रसाद पोखरेल (६३५), वैजनाथ चौधरी (५१७) र राजेन्द्र प्रसाद गौतम (२७०) पनि पराजित भए।

९ जना सचिव पदका लागि भएको निर्वाचनमा युवा नेता महेश बस्नेतले सर्वाधिक १ हजार ५४४ मत ल्याएका छन्। सचिवमा विजयी हुने सबै ‌ओली प्यानलका हुन्।

सचिवमा निर्वाचित हुने अन्य नेताहरूमा पद्माकुमारी अर्याल (१,५३०), छविलाल विश्वकर्मा (१,५०६), शेरधन राई (१,५०३), हिक्मतकुमार कार्की (१,३३७), खगराज अधिकारी (१,२३१), यामलाल कंडेल (१,१८५), राजन भट्टराई (१,१८१) र भानुभक्त ढकाल (१,१०८) छन्।

गोकुल प्रसाद बास्कोटा १,०३० मत ल्याएर दशौं स्थानमा रहँदै पराजित भए। त्यस्तै ठाकुर गैरे (८८३), रचना खड्का (८७७), कर्णबहादुर थापा (८४७) लगायतका नेताहरू पनि पराजित भएका छन्। पूर्वमन्त्री लालबाबु पण्डितले ४९६ मत मात्र प्राप्त गरे।

पदाधिकारीमा गोकर्ण राज विष्ट र योगेश भट्टराईबाहेक अरु सबैमा ओली पक्ष हावी देखिएको छ।
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्