मन्त्रिपरिषदलाई चौध सदस्यीय बनाईने, आजै चार मन्त्रीको नियुक्ति र सपथ 

शुक्रबार, मंसिर २६, २०८२

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा नयाँ चार मन्त्री थप्ने तारतम्य मिलाएकी छन्।  प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै नयाँ मन्त्रीको नियुक्ति र सपथ गराउने चाँजोपाँजो मिलाईएको छ। 

हाल १० सदस्यीय मन्त्रिपरिषदमा आज चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आजै सपथग्रहण कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री कार्कीको नेतृत्वमा शुक्रबार सरकार पाँचौँ पटक पुनर्गठन हुन लागेको हो । २०८२ भदौ २७ गते गठन भएको सरकार भदौ ३०, असोज ६ र कार्तिक ९ गते गरी चार पटक विस्तार भइसकेको छ । चार जना मन्त्री थपिए पनि प्रधानमन्त्री कार्की संगै चार मन्त्रालय रहनेछन्। 

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार आज वन, भूमि महिला र श्रममन्त्री नियुक्ति हुने सम्भावना छ। 

कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई क्रमश: भूमि, वन, श्रम र महिला मन्त्रीमा नियुक्ति गरिने भएको हो। यसअघिका भूमिमन्त्री अनिलकुमार सिन्हाको भने मन्त्रालय परिवर्तन हुने स्रोतले जनाएको छ। नयाँ मन्त्रीको सपथ आजै तीन बजे हुने भएको छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्