अख्तियार प्रमुखलाई सिध्याउने धम्की दिने तीन समातिए, विशेषमा क्यानका डिजी

शुक्रबार, मंसिर १९, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ। 

‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ भन्ने नामबाट १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि मुख्य अभियुक्त रहेको स्थान पत्ता लागेको हो। 

यसरी धम्कीसहितको पत्र अख्तियारमै प्राप्त भएको र भिडिओसमेत सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको छ।

चार दिनअघि जाहेरी प्राप्त भएपछि काठमाडौँ प्रहरीसहित विभिन्न युनिटले अनुसन्धान गरिरहेका छन्। 

यस्तै धम्कीपूर्ण पत्र पठाउने प्रकाश पाठक भने फिलिपिन्समा रहेको पत्ता लागेको हो। उनका तीन जना सहयोगीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका तीनै जनाले आफूहरू प्रकाशको बडिगार्ड भएको बताएका छन्।

तर धम्क्याउने कसुरमा भने संलग्नता नरहेको दाबी उनले गरेका छन्। प्रकाशले अख्तियार प्रमुख राईसहितको ज्यान लिने चेतावनी दिँदै भिडिओ रेकर्ड गराउँदा उनीहरू पनि भिडिओमा देखिएका थिए। सोही आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको दाबी गरेको छ।

उक्त संस्थाका अध्यक्ष बताउने प्रकाश पाठकले केही दिनअघि उच्च पदस्थ व्यक्तिहरूमाथि धम्की दिएका थिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा, तत्कालीन गृहमन्त्री रमेश लेखक, बालकृष्ण खाण लगायतलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएपछि प्रहरीले यसबारे खोजी र अनुसन्धान अघि बढाएको हो। अनुसन्धानको क्रममा केहीसँग सोधपुछ गरिएको प्रहरी उच्च स्रोतले बतायो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको मुद्दामा अनुसन्धान अन्तिम चरणमा पुगेसँगै अख्तियारमा यस्तो धम्कीपूर्ण पत्र आएको हो। 

धम्क्याउने समूहले पनि यो मुद्दासँग जोडिएका कतिपय विषयवस्तु उल्लेख गरेको भन्दै प्रहरीले ती व्यक्तिहरूलाई अधिकारीले परिचालन गरेको हुन सक्ने आशंका गरेको छ। यस्तै अर्का विवादित व्यापारीप्रति पनि प्रहरीले शंका गरेको छ। तर अधिकारीको नाम मात्रै जोडिएको हो कि संलग्नता नै छ भन्ने अनुसन्धान भइरहेकाले केही दिनमै प्रस्ट हुने प्रहरीको दाबी छ। 

अधिकारीसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ। भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा साढे १३ करोड बढी भ्रष्टाचार गरेको आरोप उनीहरूविरुद्ध छ। 

अधिकारीसँगै प्राधिकरणकै पूर्वनिर्देशक मुरारी भण्डारी पनि पक्राउ परेका छन्। उनीहरूलाई बकपत्र र थुनछेक बहसका लागि आज आख्तियारले विशेष अदालतमा उपस्थित गराएको छ। अहिले थुनछेक बहस सुरु भएको छ। 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्