सुमन २९ औं मुख्यसचिव बन्ने पक्का, आठ महिनापछि पुष्करले हान्लान् छक्का ?

सोमबार, मंसिर ८, २०८२

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की सरकारले काठमाडौँको गोकर्णमै जन्मे हुर्केका ५७ वर्षे सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गर्ने भएको छ। 

रक्षा सचिव भएर कामकाज गरिरहेका अर्याल नेपालको २९ औं मुख्यसचिव बन्ने पक्का भएको हो। मन्त्रिपरिषद्को आज दिउँसो ३ बजे बस्न लागेको बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्दैछ। । 

खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत, आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव र खुला प्रतिस्पर्धाबाट सहसचिव भएका सुमन निजामति सेवामा लो प्रोफाइलमा बसेर काम गरेका अधिकारी हुन् । सुमन २०५३ मा अधिकृत, २०६६ मा उपसचिव, २०६८ मा सहसचिव र २०७७ सचिव भएका हुन्।

२०७७ माघ १९ गते नेपाल प्रशासन सेवाको सचिव भएपछि कोशी प्रदेशको प्रमुख सचिव भएका अर्याल त्यसपछि महालेखा नियन्त्रक भएर काठमाडौं आएका थिए। दबाब थेग्न नसक्ने भनेर परिचित अर्यालले दबाबका बाबजुद पनि लेखा उपसचिव भेषप्रसाद भुर्तेललाई परराष्ट्र मन्त्रालय पठाएर उपलब्धिमा नाम लेखाएको बेला-बेला चर्चा हुने गरेको छ। अर्याल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेका थिए। त्यसपछि राष्ट्रिय योजना आयोग हुँदै उनी रक्षा मन्त्रालय पुगेका हुन्।

मुख्यसचिवको प्रतिस्पर्धामा अर्यालसहित प्रमिलादेवी शाक्य बज्राचार्य, मधुसुधन बुर्लाकोटी, कृष्णहरि पुष्कर कर्णलगायत रहेका छन्। यिनीहरूमध्ये ‘जेन-जी’ सरकारले सरकारले वरिष्ठताका आधारमा सुमनलाई मुख्यसचिव बनाउन लागेको हो। सरकारले यसअघि प्रहरी महानिरीक्षकमा वरिष्ठताका आधारमामा दानबहादुर कार्कीलाई बढुवा गरेको थियो। मुख्यसचिवमा पनि त्यहीँ नजिर स्थापित गर्न लागेको हो। 

अहिलेका मुख्यसचिव एकनारायण अर्यालले पनि नयाँ मुख्यसचिवको चाँजोपाँजो मिलाएका हुन्। आफ्नो प्रदक्षिणा गर्ने श्रम सचिव पुस्करलाई सुमनपछिको मुख्यसचिव बनाउने मेलो पनि लगभग मिलाईएको छ। आगामी असार २५ सम्म सुमनले मुख्यसचिव चलाउनेछन्। कर्णको जागिरे अवधि आगामी असार २३ सम्म छ। त्यो अगावै सुमनले राजीनामा दिने र पुस्कर मुख्यसचिव बन्ने खाका तयार भएको छ। तर त्यो बेला के अवस्था हुन्छ अहिल्यै भन्ने सक्ने अवस्था चाँही छैन। 
 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्