सरकार छोड्न जोखाना हेर्दै कुलमान, क-कसलाई गर्दैछन् तानातान ?

आइतबार, कात्तिक ३०, २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकार छाड्ने तयारी गरेका छन् । घिसिङले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बोर्डमा सँगै रहेका पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर २५ कात्तिकमा दल दर्ता गरेका थिए ।

कैलालीका उपाध्यायलाई पार्टीको संयोजक बनाएर ५१ सदस्य कमिटी बनाई निर्वाचन आयोगमा दल दर्ता गरे पनि प्रमाणपत्र प्राप्त भएको छैन । तर, यस बीचमा विभिन्न दल, समूह र व्यक्तिसँग निरन्तर छलफलमा रहेका उक्त दलका नेताहरूले अब घिसिङले चाँडै सरकार छाड्ने जानकारी दिएका छन् ।

पार्टीका केन्द्रीय सदस्य सञ्जिव भट्टराईका अनुसार यस बीचमा धेरै व्यक्ति र केही दलकै शीर्ष नेताहरू पनि जोडिन खोजिरहेका छन् । तर, उनीहरू सबैले घिसिङले सरकार छाड्नुपर्ने शर्त राखेका छन् ।

भट्टराईका अनुसार अब केही समयमै घिसिङले सरकारको जिम्मेवारी छोडेर दलको नेतृत्वमा बस्नेछन् । ‘यो पार्टी कुलमानकै हो । उहाँले नै अध्यक्ष हो । अहिले प्राविधिक रूपले बस्न नमिलेर मात्रै हो,’ भट्टराईले भने, ‘उहाँसँगै पार्टीमा अवतरण हुने धेरै जना तयारी अवस्थामा हुनुहुन्छ । अब संवादमा रहेका दलका नेता, स्वतन्त्र व्यक्ति र केही अभियानमा जोडिएका साथीहरू उज्यालो नेपाल पार्टीमा समाहित हुनुहुन्छ ।’

उनले केन्द्रीय सदस्य ड. तारा जोशीको संयोजकत्वमा बढीमा पाँच सदस्य हुने गरी संवाद समितिको बनाएको जानकारी दिए । यसअघि विभिन्न अनौपचारिक संवाद भइरहे पनि तिनलाई मूर्तरूप दिन र घिसिङले नेतृत्व लिनेबित्तकै भटाभट पार्टीमा समायोजन गर्न यो संवाद समिति बनाइएको हो ।

यसका साथै पार्टीले तीन सदस्यीय उम्मेदवार छनोट समितिसमेत बनाएको छ, जसमा केन्द्रीय सदस्यहरू जीतमान तामाङ, सञ्जीव भट्टराई र कुसुम घिमिरे छन् । यो समितिले प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक सूचीमा समावेश हुने उम्मेदवारको छनोटको विधि बनाउनेछ । ‘हामीले प्रारम्भिक छनोटमार्फत वा सार्वजनिक छविका आधारमा उम्मेदवार बनाउने भन्नेबारे छलफल चलाइरहेका छौँ । केही दिनमा यसको पनि कार्यविधि टुंगिनेछ’, भट्टराईले भने ।

उनका अनुसार यो पार्टी मध्यमार्गी विचारधाराको पार्टी हो । स्वतन्त्र र वैकल्पिक विचार राख्ने व्यक्तिहरूलाई समेत समावेश गर्नुपर्ने भएको हुँदा फराकिलो विचार राख्नेहरूको थलोको रूपमा पार्टीलाई उभ्याउने सोच भएको उनले जानकारी दिए ।

भट्टराईका अनुसार संवाद समिति बन्नुपूर्व र बनिसके पश्चात् पनि विभिन्न राजनीतिक भेटघाट तीव्र भएको र पार्टीमा जोडिनेहरूको संख्या बढिरहेको बताए । उनले केही पार्टीमा सक्रिय रूपमा लागेका व्यक्तिहरू चाँडै जोडिने भन्दै वैकल्पिक राजनीतिको अभ्यास गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि पार्टी एकता वा सहकार्य के हुनसक्छ भनेर छलफल भइरहेको जानकारी दिए ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले विभिन्न व्यक्ति र समूहसँगको छलफल जारी नै रहेको बताए । उनले घिसिङ र उनको टिमसँग पनि राजनीतिक भेटघाट र छलफल अघि बढिरहेको जानकारी दिए । ‘वैकल्पिक विचार राख्ने सबै पक्ष एकढिक्का भएर जानुपर्छ भन्ने सवालमा साथीहरूले छलफल चलाइराख्नुभएको छ,’ उनले भने, ‘अहिले दर्ता भएका नयाँ दलहरूसँग समेत हामीले संवाद गरिरहेका छौँ ।’

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्