प्रचण्ड र माधवको मिल्ती ‘बञ्चरेडाँडो’, झाँक्रीलाई माधव कसरी भएछन् ‘घाँडो’ ?

बुधबार, कात्तिक १९, २०८२

एकीकृत समाजवादीकी संस्थापक नेतृ रामकुमारी झाँक्रीले आज पार्टी विघटन भएकाले एससँग आफ्नो यात्रा पनि टुंगिएको बताएकी छन्। काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनले माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरेकाले आफूहरु एमालेमा फर्कने तयारी गरेको बताएकी हुन्।

झाँक्रीले पार्टी विभाजनले शक्ति नदिएको टिप्पणी गरिन्। ‘प्रारम्भका दिनहरूमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं। त्यो अभियान एक हिसाबले समाप्त भएको छ। हाम्रो अध्याय टुंगिएको छ। पार्टी विघटन भएको छ।’

झाँक्रीले नेकपा एमालेसँग अलग भएर एकीकृत समाजवादी गठन गर्दै गर्दा अभियान भयंकर हुने लागेको तर त्यो सम्भावना समाप्त भएको दाबी गरिन्।

उनले अहिले आफूहरूको बाटो अवरुद्ध बनेको र ‘पज’ को अवस्थामा रहेको बताइन्। झाँक्रीले भनिन्, ‘जब हाम्रो बाटो पनि अवरुद्ध हुन्छ त्यतिबेला कसरी अगाडि बढ्ने भन्नका लागि पनि बाटोमा उभिनुपर्छ। यात्रालाई पज गर्नुपर्छ। त्यसपछि उपयुक्त मार्गहरु प्रशस्त गरेर यात्रा अगाडि बढाउनुपर्ने हुन्छ।’

उनले देशभरिका एकीकृत समाजवादी पार्टीका नेता-कार्यकर्तालाई एकताको लागि आह्वान गरिन्। एकीकृत समाजवादीका नाममा संगठित भएका वडा तहदेखि केन्द्रीय तहसम्मका नेताहरूलाई एकताबद्ध हुन उनले अपिल गरिन्। ‘विभाजनले किमार्थ शक्ति दिएन। त्यसैले मिल्नेसँग नै मिल्नुपर्छ, केही पनि नमिल्नेसँग एकता गर्न हुँदैन’ उनले भनिन्।

अहिलेको एकता प्रक्रियाले बृहत्तर वामपन्थी एकता र प्रगतिशील आन्दोलनलाई कमजोर पार्ने निश्चित रहेको उनको भनाई छ। उनले आज हुने माओवादी केन्द्र र एकीकृत समाजवादीको एकताले वाम आन्दोलन कमजोर हुने स्पष्ट पारिन्। उनले फरक–फरक विचार राख्ने दलहरु एकै ठाउँ आउँदा दल कमजोर हुन्छ भन्ने कुरा नेकपा एकतामा नै भोगेको उल्लेख गरिन्। ‘विगतमा एमाले र माओवादी मिलेर नेकपा बन्दा पार्टीभित्रको लोकतान्त्रिक जीवन समाप्त पर्‍यौ। अहिले फेरि नेकपा एकीकृत समाजवादी र माओवादी एक हुँदा वाम आन्दोलन कमजोर हुन्छ। किनकि, त्यहाँ ओतलाग्ने मात्रै काम हुँदैछ, यसले पार्टी कमजोर हुन्छ। लोकतन्त्र मासिन्छ’, झाक्रीले भनिन्।

झाँक्रीले ८ दलको एकतालाई मानिसहरूले बञ्चरेडाँडासँग तुलना गरिन्। उनले भनिन्, ‘यो एकताले पार्टी र आन्दोलनलाई पुनर्गठन गर्छ कि यो बञ्चरेडाँडा हो भनिरहेका छन्। बञ्चरेडाँडा सांकेतिक हिसाबले डम्पिङ साइट हो। जहाँ अर्ग्यानिक र ननअर्ग्यानिक दुवै प्रकारका फोहोर फालिरहेका छौं।’

सोही कार्यक्रममा नेकपा एमालेमा फर्किने तयारी गरेका एकीकृत समाजवादीका नेता किसान श्रेष्ठलेआफूहरु निसर्त रुपमा मूलघर फर्किन लागेको बताए। निवर्तमान सांसदसमेत रहेका श्रेष्ठले सातै प्रदेशमा अभियान चलाएर नेताकार्यकर्तालाई पनि एमालेमा फर्कन आह्वान गर्ने बताए। 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्