प्रचण्ड र माधवले घरमै पुगेर फकाए पनि भीम रावल फक्किएनन्

बुधबार, कात्तिक १९, २०८२

भीम रावल माओवादी केन्द्र एकीकृत समाजवादी सहितका नौ दलबीच हुन लागेको एकतामा सहभागी नहुने भएका छन्।

रावललाई पार्टी एकतामा सहभागी गराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निरन्तर सम्पर्क गरे पनि अन्तत: उनी एकतामा सहभागी नहुने निष्कर्षमा पुगेका छन्।

एमालेले निष्कासन गरेपछि रावल राष्ट्रवादी मातृभूमि अभियान सञ्चालन गरिरहेका छन्। उनलाई पनि नौ पार्टी मिलेर बन्न लागेको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध गराउन दाहाल र नेपाल हिजो उनको निवास टोखामै पुगेर कुराकानी गरेका थिए।

नेता रावलसँग बुधबार बिहान पनि नेता प्रचण्डले कुरा गरेका थिए तर कुरा मिल्न नसकेको स्रोतले बतायो। रावलले एकता लगत्तै आउने मङ्सिरमै एकीकृत पार्टीको महाधिवेशन हुनुपर्ने शर्त राखेका छन्।

तर उक्त शर्तमा दाहाल र नेपाल सहमत नभएपछि तत्कालका लागि रावल एकतामा सहभागी हुने सम्भावना टरेको हो। एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पनि एकता लगत्तै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण हुनुपर्ने शर्त अघि सारेका थिए।

उक्त प्रस्तावमा नेताहरु सहमत नभएपछि उनी एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने तयारीमा पुगेका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्