कांग्रेसको विशेष महाधिवेशन माग्दै हस्ताक्षर गर्नेहरुको भेला दुई दिन पछिलाई सारियो

शनिबार, कात्तिक १५, २०८२

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूको भेला दुई दिन पछि सरेको छ । हस्ताक्षरकर्ताहरूले केन्द्रीय समिति बैठक दुई दिन स्थगित भएको कारण देखाउँदै भेला पनि दुई दिनपछि सारेका हुन् । उनीहरूले अझै पनि केन्द्रीय समितिको प्रतीक्षा रहेको भन्दै केन्द्रीय समितिबाट महाधिवेशन तालिका आए एक ढङ्गले र महाधिवेशन तालिका पेश हुन नदिएमा अर्को ढंगले भेला हुने जानकारी दिए । 

"जसरी पनि महाधिवेशनको निर्णय गर्ने केन्द्रीय समितिले हो । केन्द्रीय समितिको बैठक दुई दिन स्थगित भएपछि भेला पनि दुई दिन पछि सारिएको छ," हस्ताक्षर अभियानका नेता गुरुराज घिमिरेले भने, "भेला कस्तो हुन्छ भन्ने कुरा केन्द्रीय समितिको निर्णयमा निर्भर हुनेछ।" 

उनले केन्द्रीय समितिमा महामन्त्रीले कार्यतालिका पेश गर्न नपाएको भन्ने बाहिर आएको भन्दै केन्द्रीय समितिको अवस्थाले नै भेलाले निर्देशित गर्ने बताए । अहिलेको राष्ट्रिय समस्याको र पार्टीको समस्याको दुवै समाधान पार्टीको नियमित महाधिवेशनले दिने भन्दै केन्द्रीय समितिले जो यथार्थ बुझ्नुपर्ने उनको भनाइ छ । 

"त्यसको फरक वस्तुस्थिति बनेको छ। त्यसबाट पार्टी पनि अछुतो रहने कुरै भएन," घिमिरेले भने, "यी सबै समस्याको समाधान र सम्बोधन नियमित महाधिवेशनले मात्र दिन सक्छ। नियमित महाधिवेशनका लागि केन्द्रीय समितिबाटै तयारी हुन आवश्यक छ।" 

उनले केन्द्रीय समिति तयार नभएको अवस्थामा भने विशेष महाधिवेशन बाध्यात्मक रहेको बताए । विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाइसकेको भन्दै त्यस अगाडि नै केन्द्रीय समितिबाट नियमित महाधिवेशन घोषणा हुनु हितकर हुने बताए। 

"नियमित महाधिवेशन पार्टीका लागि, हस्ताक्षरकर्ताहरूका लागि र देशका लागि पनि हितकर हुन्छ," घिमिरेले भने, "यो नेतृत्वले बुझ्नुपर्यो। पार्टीलाई शुभ सुरक्षित अवतरण गराउने काम महाधिवेशन प्रतिनिधिको होइन केन्द्रीय नेतृत्वमा रहेका पदाधिकारीको हो ।" 

उनले नेतृत्व र पदाधिकारीले आफ्ना जिम्मेवारी बहन गर्न नसक्दा त्यसले पार्टीलाई कमजोर अवस्थामा पुर्याएको र देशको अवस्था पनि लथालिङ्ग अवस्थामा रहेको बताए । 

"हाम्रो हस्ताक्षर अभियान कुनै नेताको ब्रान्डिङ वा कुनै नेताको क्षयीकरणमा केन्द्रित होइन। यो त पार्टीको पुनर्जीवनका लागि हो," उनले भने, "त्यसैले केन्द्रीय समितिमा कोही अफेन्सिभ र कोही डिफेन्सिभ हुन जरुरी छैन ।  सबैले जिम्मेवारी बोध गर्नु र नियमित महाधिवेशनका लागि मिति तोक्नु श्रेयस्कर हुन्छ ।"

घिमिरेले केन्द्रीय समितिले कार्यतालिका अस्वीकार गरेको प्रमाणित भएमा भने मङ्गलबारको भेलाले कडा बाटो रोज्ने संकेत गर्दै त्यसपछि देशभर भेला सकेर विशेष महाधिवेशन आयोजना हुने दाबी गरे।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्