सोसल मिडिया
युनिकोड
जेनजी आन्दोलनका नाममा अदालतहरुमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध सर्वोच्च अदालतले संस्थागत रुपमा किटानी जाहेरी दिने भएको छ।
भदौ २४ गते जेनजी आन्दोलनका नाममा सर्वोच्च अदालतसहित २३ वटा अदालत आगो लगाएर पूर्णरुपमा ध्वस्त पारिएको थियो।
उक्त घटनामा संलग्नहरुमाथि अनुसन्धान गरेर कारबाहीको माग गर्दै सर्वोच्च अदालत आफैले संस्थागत रुपमा प्रहरीसमक्ष जाहेरी दिने भएको हो। सर्वोच्चका एक अधिकारीका अनुसार आइतबार बसेको फुलकोर्ट (सबै न्यायाधीशको) बैठकमा किटानी जाहेरी दिनेबारे छलफल भएको छ।
ती अधिकारीले भने, ‘संस्थागत रुपमा जाहेरी दिनेबारे फुलकोर्ट बैठकमा छलफल भएको छ। केही दिनभित्रै निर्णय भएर प्रक्रिया अघि बढ्छ।’ आगजनी भएका अरु अदालतहरूलाई पनि किटानी जाहेरी दिन सर्वोच्चले निर्देशन दिने भएको छ।
अदालतहरुमा नियोजित रुपमा आगो लगाइएको दाबी गरिन्छ। स्रोतका अनुसार केही जिम्मेवार व्यक्तिहरुले अदालतमा आगो लगाउन उक्साएको भरपर्दो सूचना (म्यासेज) सर्वोच्चका न्यायाधीशहरुको हातहातमा घटनालगत्तै पुगेको थियो।
अदालतमा को–को व्यक्ति आगजनी गर्न पुगे भन्ने जानकारी सिसिटिभी फुटेजबाट पनि देखिएको छ। आगजनी र तोडफोडका कारण ध्वस्त भएको अदालतको विद्युतीय अभिलेखलाई सर्वोच्चले सोमबारदेखि पूर्णरुपमा रिकभर गरेको छ।
विद्युतीय माध्यममा भएका अभिलेख रिकभर भएसँगै घटनामा संलग्न व्यक्तिहरुलाई छानबिनको दायरामा ल्याउन पनि सहज हुने भएको छ। आगजनीका कारण सर्वोच्चसहितका अदालतहरुका दशवटा भवन, ४२२ सवारीसाधन र ९ लाख ३३ हजार मुद्दाका मिसिल खरानी बनाइएको छ।
अदालतहरुमा कहाँ कति भयो क्षति ?
जेनजी आन्दोलनका नाममा भदौ २४ गते भएको आगजनी र तोडफोडले देशभरका अदालतमा अपूरणीय क्षति भएको थियो।
सर्वोच्च अदालतसहित २३ वटा अदालतमा भएको आगजानीका कारण भवन, मुद्दाका महत्वपूर्ण अभिलेख, चालु अवस्थामा रहेका मुद्दाका मिसिल, सवारी साधान र अन्य अत्यावश्यक सामाग्रीहरु जलेर खरानी भएका छन्।
सर्वोच्चले अदालतहरुमा भएको क्षति विवरणअनुसार चालु अवस्थामा रहेका र अभिलेखमा पुगेका गरी ९ लाख ३३ हजार ८२३ वटा मिसिल जलेर पूर्णरुपमा नष्ट भएका छन्। जसमा फैसला हुन बाँकी विचाराधीन मुद्दाको संख्या २६ हजार ५६७ रहेको छ।
क्षतिको विवरण शुक्रबार बसेको अदालत व्यवस्थापन समितिको बैठकमा पेश भएको सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए। यही विवरणलाई नै अदालतले सरकार र जाँचबुझ आयोगलाई बुझाउनेछ।
सर्वोच्च अदालतका करिब सबैजसो मिसिल जलेर खरानी भएका छन्। प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सर्वोच्चमा भदौ २३ गतेसम्म २४ हजार २३४ वटा मुद्दा विचाराधीन रहेकोमा २० हजार ३४ वटा विचाराधीन मुद्दाको मिसिल जलेर पूर्ण रुपमा नष्ट भएका छन्। अब जम्मा ४ हजार दुई सय मुद्दाका मिसिल मात्रै बचेका छन् जसमा रिटतर्फ दुई हजार पाँच सय ९ र मुद्दाका जम्मा एक हजार ६९१ थान मिसिल बचेका छन्।
जलेका मिसिलमा सार्वजनिक महत्वका, ठूला भ्रष्टाचारका मिसिलसमेत परेका छन्।
तल्ला तहका अदालतहरुमा चालु अस्थाका ६ हजार पाँच सय ३३ मुद्दाका मिसिल जलेका छन्। कोइरालाका अनुसार सर्वोच्चबाहेक अरु अदालतमा अभिलेखका रुपमा रहेका ७ लाख ६ हजार ७१ थान मुद्दाका मिसिल नष्ट भएका छन्।
सर्वोच्च अदालतमा अभिलेखका रुपमा रहेका एक लाख ९७ हजार थान मुद्दाका मिसिल गुमेका छन्। मातहत अदालतमा तहसिलतर्फका चार हजार एक सय ८५ मिसिल काम नलाग्ने भएका छन्।